काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हचुवा पाराले संविधान संशोधन हुन नसक्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वालेन्द्र साह सरकारको सय दिने समीक्षा कार्यक्रममा बोल्दै उनले सरकारको संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठामा कमी देखिएको आरोप लगाउँदै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गरेका हुन्।
सभापति थापाले सरकारले संविधान संशोधनका नाममा संविधान निर्माणका क्रममा राखिएका संवेदनशील र सूक्ष्म पक्षहरूलाई हलुका रूपमा लिइरहेको आरोप लगाए। संविधानको संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा यसलाई अघि नबढाउन उनले सरकारलाई चेतावनी दिए। संविधान संशोधनमार्फत राज्यका संस्थाहरूलाई बलियो बनाउनुपर्नेमा उनले विशेष जोड दिए।
सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै थापाले भने, “संविधान र यो व्यवस्थाको सन्दर्भमा यो सरकारको निष्ठामा कमी देखिएको छ। हामीले संविधान बनाउँदै गर्दाका सूक्ष्म पक्षहरूलाई सरकार सञ्चालन गर्ने साथीहरूले पटक्कै ख्याल गरिरहनुभएको छैन। संविधान संशोधन र पुनरावलोकन एकदमै गर्नुपर्नेछ, तर यस्तो हचुवा पाराले होइन। यहाँ त एकैछिनमा आगो बल्छ। अधिकारको विषय त्यतिबेलासम्म मात्र गौण हुन्छ जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ। तर, यदि त्यो अधिकारलाई चलाइयो भने सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही बन्छ। भाषा, समावेशिता र विविधतालाई सम्बोधन गर्ने विषयहरू निकै संवेदनशील छन्। तर, यी विषयहरूमा हल्का पाराले, अझ म त भन्छु ‘लफङ्गा’ पाराले जे मन लाग्यो त्यही बोलिदिएको छ र जे मन लाग्यो त्यही गरिदिएको छ। यो गम्भीर चिन्ताको विषय हो।”
सभापति थापाले संविधानमा समेटिएका भाषा, जाति, समावेशिता र विविधताका विषयहरूमा हचुवाका भरमा छेडखानी गरिए मुलुकमा पुनः द्वन्द्वको आगो फैलिनेतर्फ सरकार समयमै सचेत हुनुपर्ने धारणा राखे।