देशभर करिब २५ प्रतिशत धान रोपाइँ, कोशी र मधेसमा सुस्त
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
409
Shares
काठमाडौँ । देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत मात्र सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा नहुँदा गत वर्षको तुलनामा रोपाइँको गति केही सुस्त देखिएको हो। हालसम्म मुलुकको कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा मात्र रोपाइँ सकिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत विवरणअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा तीव्र गतिमा रोपाइँ भइरहेको छ। त्यहाँ कुल १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७४२ हेक्टर अर्थात् ५७.९२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ। यस्तै गण्डकी प्रदेशमा ३८.३३ प्रतिशत (३५ हजार ८८१.४ हेक्टर) र बागमती प्रदेशमा ३३.२१ प्रतिशत (३८ हजार २६.१७ हेक्टर) क्षेत्रमा रोपाइँ सकिएको छ।
त्यसैगरी कर्णाली प्रदेशमा २८.१५ प्रतिशत (१२ हजार १८५ हेक्टर) र लुम्बिनी प्रदेशमा २०.८० प्रतिशत (६२ हजार ६७०.८७ हेक्टर) भूभागमा धान रोपिएको मन्त्रालयले जनाएको छ।
धान उत्पादनका हिसाबले देशकै प्रमुख क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा भने यस वर्ष रोपाइँको रफ्तार निकै सुस्त देखिएको छ। मधेस प्रदेशको कुल ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये रैथाने र सिँचाइ क्षेत्र गरी जम्मा १५.६४ प्रतिशत (६० हजार ३४६.०६ हेक्टर) मा मात्र रोपाइँ भएको छ। कोशी प्रदेशमा पनि स्थिति उस्तै छ, जहाँ २ लाख ७६ हजार ३८६.७३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५.३३ प्रतिशत अर्थात् ४२ हजार ३५७.९६ हेक्टर क्षेत्रमा मात्र धान रोपिएको छ। असार अन्तिम सातातिर मनसुन थप सक्रिय भएसँगै रोपाइँको दर बढ्ने अनुमान मन्त्रालयले गरेको छ।