मालदह आँपको बजार मूल्य दोब्बरले बढ्यो, किसान भने रित्तै
शीतभण्डार र बजार व्यवस्थापनको माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
469
Shares
काठमाडौँ । मधेस प्रदेशमा उपभोक्ताका लागि निकै प्रिय मानिने मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ। दुई साताअघिसम्म बजारमा सय रुपैयाँमा साढे दुई केजी (प्रतिकेजी ४० रुपैयाँ) सम्म पाइने मालदह आँपको मूल्य अहिले बढेर प्रतिकेजी सय रुपैयाँ पुगेको छ। बजारमा मूल्य यसरी आकाशिए पनि वास्तविक उत्पादक किसानले भने यसको उचित लाभ पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले तत्काल शीतभण्डार (कोल्ड स्टोर), प्रशोधन केन्द्र र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन्।
किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा बिचौलिया र व्यापारीहरूले बजारमा कृत्रिम अभाव जस्तै सिर्जना गरेर मूल्य बढाएका हुन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले बजार मूल्य बढे पनि त्यसको प्रत्यक्ष फाइदा किसानसम्म पुग्न नसकेको बताए। किसानबाट सस्तोमा खरिद गरिएको आँप बजारमा पुर्याएर उपभोक्तालाई महँगोमा भिडाउने काम भइरहेकाले यस क्षेत्रमा सरकारी निकायबाट प्रभावकारी बजार अनुगमन र मूल्य निर्धारणको व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
यस्तै, मिथिला नगरठमाडौँका अर्का कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँको सिजन सुरु हुने भएकाले किसानहरू खेतबारीको काममा व्यस्त हुने र बगैँचाको आँप समयमै जसोतसो बेच्न हतारिने बताए। व्यापारीहरूले किसानको यही विवशता र बाध्यताको फाइदा उठाउँदै सुरुमै कौडीको भाउमा आँप फुत्काउने गरेका छन्। शीतभण्डार र व्यवस्थित बजार नहुँदा आफूहरूले बढी समयसम्म आँप सञ्चित गरेर राख्न नसकेको उल्लेख गर्दै महतोले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले नै पहल गर्नुपर्ने माग गरे।
यता आँप व्यापारीहरूका अनुसार यतिबेला बजारबाट बम्बई जातको आँप लगभग सकिइसकेको छ भने स्वादिलो मानिने मालदह आँप पनि अब बढीमा १० दिनसम्म मात्र बजारमा उपलब्ध हुनेछ। मालदहको सिजन सकिएलगतै बजारमा कलकत्तिया र आम्रपाली जातका आँप भित्रिने व्यापारीहरूले बताए।