काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क जनगणतन्त्र पूर्ण रूपमा मुक्त भएको घोषणा गरेका छन्।
संयुक्त सैन्य बलको अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै पुटिनले हालै लुहान्स्क जनगणतन्त्रलाई पूर्ण रूपमा मुक्त गर्ने अभियान सम्पन्न भएको बताएका हुन्।
उनले डोनेट्स्क जनगणतन्त्रका साथै जापोरिझिया र खेरसन क्षेत्रमा रहेका युक्रेनी सशस्त्र बलका संरचनाविरुद्धको सैन्य अभियान अझै जारी रहेको उल्लेख गरे।
पुटिनले युक्रेनका खार्किभ, सुमी र निप्रोपेत्रोव्स्क क्षेत्रका सीमावर्ती इलाकामा सुरक्षा क्षेत्र निर्माण गर्ने कार्य पनि योजनाअनुसार अघि बढिरहेको दाबी गरे।
रूसले लुहान्स्कलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरे पनि यसबारे युक्रेनतर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। स्वतन्त्र रूपमा पनि उक्त दाबीको पुष्टि हुन सकेको छैन।