arrow

पत्रकार एवं अध्यापक भरत कोइराला सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
bharat-koirala-honoured-83.jpg

पोखरा । अढाई दशकदेखि निरन्तर पत्रकारिता गरिरहेका पत्रकार भरत कोइराला सम्मानित भएका छन् । समाधान दैनिकका प्रधान सम्पादक कोइराला लेखनाथ उद्योग वाणिज्य संघको वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । 

शनिबार लेखनाथमा आयोजित कार्यक्रममा प्रदेश पर्यटन तथा उद्योग मन्त्री यशोदा तिमिल्सिनाले कोइरालालाई सम्मान गरिन् । लामो समयको समाज हितको पत्रकारिताको कठिन यात्रा रोजेबापत उनलाई वाणिज्य संघले आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो । 

उनी पत्रकारितासँगै प्राध्यापन र प्रशिक्षणमा पनि उत्तिकै सक्रिय छन् । उनले 'लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर' मा आमसञ्चार र पत्रकारिता विषय पढाउँछन् । साथै भद्रकाली मावि र पश्चिमाञ्चल माविमा समेत उनी आमसञ्चारका साथै सामाजिक अध्यापन गर्छन् ।

उनले करिब १८ वर्षसम्म 'द हिमालयन टाइम्स' र 'अन्नपूर्ण पोस्ट' मा सहसम्पादक र ब्युरो प्रमुख भएर काम गरे । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजकको जिम्मेवारी पनि कुशलतापूर्वक निभाए । यसबाहेक उनले 'आदर्श समाज' दैनिकमा सम्पादक र 'समाधान मिडिया' मा कार्यकारी सम्पादकका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरे ।

उनको कर्मको मूल्यांकन गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले सम्मानित गरेका छन् । उनले अमेरिकी दूतावासबाट प्रदान गरिने 'खोज पत्रकारिता पुरस्कार २०७६' प्राप्त गरेका छन् । यस्तै 'राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार २०७४' र 'गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७८' बाट पनि उनी सम्मानित भइसकेका छन् । 

उनले आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । स्याङ्जाको पुतलीबजार १३ मा जन्मेका ४७ वर्षे कोइराला सामाजिक कार्यमा पनि सक्रिय छन् । 

उनी संसदीय पत्रकार मञ्च गण्डकी र नेपाल पत्रकार महासंघ अन्नपूर्ण पोस्ट शाखाका पूर्व अध्यक्ष हुन् । उनी लायन्स क्लब र मेन्टल हेल्थ फाउन्डेसन जस्ता संस्थामा पनि आबद्ध छन् । उनको अनुभव र सक्रियताले नयाँ पुस्ताका पत्रकारका लागि सधैँ ऊर्जा दिइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ