सेवानिवृत्त कर्मचारीको सुविधा असार २५ सम्म भुक्तानी गर्न आदेश
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
536
Shares
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको सुविधाबापतको रकम असार २५ गतेभित्र निकासा गरी भुक्तानी गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ।
महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालले मातहतका कार्यालयहरूलाई पत्राचार गर्दै अवकाशप्राप्त कर्मचारीहरूले पाउने उपदान, सञ्चित बिदा र औषधि उपचारबापतको रकम तत्काल भुक्तानी गराउन अनुरोध गरेका छन्।
कार्यालयको यही असार १९ गतेको निर्णयअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (२) बमोजिम भुक्तानी निकासाका लागि अख्तियारीको अवधि थप गरिएको लेखा अधिकृत अर्यालले जानकारी दिए।
यसअघि कार्यालयले असार २० गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने निर्णय गरेको भए पनि व्यावहारिक सहजताका लागि केही दिन अवधि थप गरिएको उनले बताए।