आन्तरिक पर्यटनले अर्थतन्त्रमा बढायो पकड, जीडीपीमा २.६ प्रतिशत योगदान
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
418
Shares
काठमाडौँ। नेपालमा आन्तरिक पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.६५ प्रतिशत योगदान पुर्याएको अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार सो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको थियो ।
त्यसमध्ये आन्तरिक पर्यटनबाट एक खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि भएको उल्लेख गरिएको छ, जुन कुल जीडीपीको २.६५ प्रतिशत हो ।
सर्वेक्षणअनुसार समीक्षा अवधिमा आन्तरिक पर्यटनमार्फत चार खर्ब सात अर्ब १७ करोड रुपैयाँ बराबरको पर्यटकीय उपभोग भएको छ । यसबाट तीन खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको अनुमान गरिएको छ ।
उत्पादन प्रक्रियामा प्रयोग भएका वस्तु तथा सेवाको लागत अर्थात् मध्यवर्ती उपभोग एक खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ रहेको सर्वेक्षणले देखाएको छ।
उक्त लागत कटाउँदा आन्तरिक पर्यटनबाट सिर्जित कुल मूल्य अभिवृद्धि एक खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले चार खर्ब रुपैयाँभन्दा बढीको पर्यटकीय उपभोग तथा जीडीपीमा २.६५ प्रतिशत योगदानले आन्तरिक पर्यटन नेपालको अर्थतन्त्रमा उल्लेखनीय भूमिका खेल्दै गएको निष्कर्ष निकालेको छ।
पछिल्ला वर्षहरूमा आन्तरिक यात्राको विस्तार, धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गन्तव्यप्रतिको आकर्षण र पर्यटनसम्बन्धी सेवाको बढ्दो प्रयोगले आन्तरिक पर्यटनको आर्थिक योगदान निरन्तर बढ्दै गएको संकेत सर्वेक्षणले गरेको छ ।