arrow

एम्बोलो र एनडोएको गोलमा स्वीट्जरल्यान्डको सहज जित, अल्जेरियाको यात्रा समाप्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
switzerland-algeria.jpg

काठमाडौँ। स्वीट्जरल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा अल्जेरियालाई २-० ले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा स्विट्जरल्यान्डले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्दै प्रभावशाली प्रदर्शन गरेको थियो।

स्वीट्जरल्यान्डले खेलको ११औँ मिनेटमै अग्रता बनायो। ब्रिल एम्बोलोले विपक्षी रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै उत्कृष्ट फिनिसिङमार्फत गोल गरेपछि स्वीट्जरल्यान्डले सुरुआती अग्रता लिएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको स्वीट्जरल्यान्डले दोस्रो हाफ शुरू भएको एक मिनेटमै अर्को गोल थप्यो। ४६औँ मिनेटमा डान एनडोएले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएपछि अल्जेरियामाथि दबाब थपिएको थियो।

त्यसपछि अल्जेरियाले खेलमा फर्कने प्रयास गरे पनि स्वीट्जरल्यान्डको सुदृढ रक्षापङ्क्ति र अनुशासित खेलका कारण कुनै गोल फर्काउन सकेन।

बल नियन्त्रण, पासिङ र अवसर सिर्जनामा पनि स्वीट्जरल्यान्ड नै हाबी रहँदा अल्जेरियाको विश्वकप यात्रा अन्तिम ३२ चरणमै टुङ्गिएको छ।

स्वीट्जरल्यान्डको जितमा ब्रिल एम्बोलो र डान एनडोएको १-१ गोल निर्णायक बने। दुवै हाफको शुरूआतमै आएको गोलले टोलीलाई सहज जित दिलाएको हो।

यस जितसँगै स्वीट्जरल्यान्ड विश्वकपको प्रिक्वार्टरफाइनलमा पुगेको छ। अब उसले कोलम्बिया र घानाबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

४८ टोली सहभागी रहेको यस संस्करणको विश्वकपमा नकआउट चरण पनि अत्यन्त प्रतिस्पर्धात्मक बन्दै गएको छ।

स्थापित टोलीसँगै केही नयाँ टोलीले पनि प्रभावशाली प्रदर्शन गरिरहेका बेला स्वीट्जरल्यान्डले अनुशासित र सन्तुलित खेलमार्फत आफू उपाधि दाबेदारमध्ये एक रहेको संकेत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ