काठमाडौँ । विश्वकप फुटबलमा अहिले पोर्चुगल र क्रोएसिया भिडिरहेका छन् । खेल क्यानाडाको बीएमओ फिल्डमा भइरहेको छ ।
मध्यान्तरसम्म गोलरहित बराबरी भएको छ । पोर्चुगलले शुरूआतदेखि नै आक्रामक प्रदर्शन गरे पनि गोल भने गर्न सकेन ।
पोर्चुगलले ६९ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएर निरन्तर गोलका लागि आक्रमण गरिरहे पनि गोलपोष्टको जाली चुमाउन भने सकेन ।
चर्चित स्ट्राइकर एवं पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोसमेत गोलका लागि असफल रहे ।
गोलका लागि एउटा उत्कृष्ट प्रहार पनि क्रोएसियाले असफल पारिदियो ।
पोर्चुगलले समूह चरणमा नवप्रवेशी टिम उज्बेकिस्तानलाई ५–० ले हराएको थियो भने कोलम्बियासँग गोलरहित तथा चेक गणतन्त्रसँग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह चरणमा क्रोएसियाले घानालाई २–१ ले तथा पानामालाई १–० ले हराउँदा इङ्गल्याण्डसँग भने ४–२ ले पराजित भएको थियो ।
अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म ११ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए ।
३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिन्छन् । अहिलेसम्म भएका ११ खेलबाट ११ टिम बाहिरिएका छन् भने ११ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका र स्पेन प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो ।
पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो ।
त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।
फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो ।
मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो ।
त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो ।