अर्थतन्त्रमा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत, वार्षिक साढे चार खर्ब खर्च
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
249
Shares
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रिय स्तरको विस्तृत ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ सार्वजनिक गरेको छ। नेपालमा आन्तरिक पर्यटनको वास्तविक अवस्था, नागरिकको खर्च गर्ने ढाँचा र देशको अर्थतन्त्रमा यस क्षेत्रको योगदान मापन गर्ने उद्देश्यले यो सर्वेक्षण गरिएको हो। पर्यटन स्याटलाइट लेखाको अन्तर्राष्ट्रिय अवधारणामा आधारित यस सर्वेक्षणले आन्तरिक तथा बाह्य (आउटबाउन्ड) पर्यटनका विविध आयामहरूलाई समेटेको छ।
आधाभन्दा बढी घरपरिवार पर्यटनमा संलग्न
सर्वेक्षणका अनुसार नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ५२.४ प्रतिशत (करिब ३६ लाख २१ हजार) घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएका छन्। पर्यटक घरपरिवारको औसत सदस्य संख्या ३.९४ रहेको छ। कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलका अनुसार पर्यटनमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रको हिस्सा बढी देखिएको छ। यो प्रतिवेदन प्रदेश सरकारहरूलाई पर्यटन नीति निर्माण गर्न, व्यवसायीहरूलाई रणनीतिक योजना बनाउन र शोधकर्ताहरूका लागि महत्त्वपूर्ण सामग्री हुने विश्वास उनले व्यक्त गरे।
तथ्याङ्कको सामाजिक पक्षबारे बोल्दै डा. पोखरेलले भने, “नेपालमा अझै पनि ४८.५ प्रतिशत नागरिकहरू आन्तरिक वा बाह्य कुनै पनि भ्रमणमा निस्कन नसक्ने अवस्थामा रहेको देखिन्छ। हामीमध्ये ५१.५ प्रतिशत मात्र घुम्न निस्कन सक्छौँ। त्यसैले यसलाई सामाजिक समता र समावेशिताका दृष्टिकोणबाट पनि विश्लेषण गरिनुपर्छ।”
भ्रमणको उद्देश्य र प्रमुख गन्तव्यहरू
आन्तरिक भ्रमणमा ‘एकै दिन फर्किने’ (सेम-डे) पर्यटकहरूको मुख्य उद्देश्य किनमेल (३२.६ प्रतिशत) रहेको पाइएको छ भने स्वास्थ्य उपचार र आफन्त भेटघाट समान २०.१ प्रतिशत रहेको छ। अर्कातर्फ, ‘रात बिताउने’ पर्यटकहरूको हकमा भने ६५.५ प्रतिशतले साथीभाइ तथा आफन्त भेटघाटलाई मुख्य उद्देश्य बनाएको पाइएको छ।
रात बिताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन र वार्षिक औसत भ्रमण आवृत्ति ४.८१ पटक रहेको छ। प्रादेशिक रूपमा सुदूरपश्चिम र मधेस प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा लामो (८.१८ दिन) पाइएको छ भने भ्रमण आवृत्तिको हिसाबले गण्डकी प्रदेश (६.२६ पटक) अगाडि छ। आन्तरिक पर्यटनका लागि काठमाडौँ, चितवन र कास्की प्रमुख गन्तव्य जिल्लाका रूपमा उदाएका छन्, जसमा मनोरञ्जनका लागि कास्की (पोखरा) सबैभन्दा लोकप्रिय रहेको छ। पर्यटकीय गतिविधिमा युवा पुस्ताको आकर्षण बढी देखिएको छ, जहाँ कुल पर्यटकमध्ये २६.६ प्रतिशत 'जेनेरेसन जेड' (१३–२८ वर्ष) समूहका छन्। उमेर बढ्दै जाँदा भ्रमण गर्ने दरमा भने क्रमिक रूपमा कमी आएको छ।
बाह्य (आउटबाउन्ड) पर्यटनको अवस्था
नेपाली बासिन्दाले गर्ने बाह्य (विदेश) भ्रमणको मुख्य उद्देश्य किनमेल र धार्मिक यात्रा देखिएको छ। सोही दिन फर्किने बाह्य भ्रमणमा ६३.९ प्रतिशत र रात बिताउने बाह्य भ्रमणमा ४०.३ प्रतिशत हिस्सा किनमेलकै रहेको छ। यस्ता बाह्य भ्रमणहरू विशेषगरी असोजदेखि पुससम्मको अवधिमा बढी हुने गरेको पाइएको छ। सर्वेक्षण अवधि (२०८१ असोजदेखि २०८२ भदौसम्म) मा नेपाली बासिन्दाले कुल २ लाख ९३ हजार सोही दिन फर्किने तथा ६ लाख २० हजार रात बिताउने बाह्य भ्रमण गरेका छन्।
वार्षिक साढे ४ खर्ब खर्च, अर्थतन्त्रमा बलियो योगदान
तथ्याङ्कअनुसार नेपाली घरपरिवारले पर्यटनसम्बन्धी गतिविधिमा वार्षिक कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन्। यसमध्ये आन्तरिक पर्यटनमा ३ खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ र बाह्य पर्यटनमा ६३ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ। खर्चको शीर्षकअनुसार किनमेलमा सबैभन्दा बढी (२६ प्रतिशत) खर्च हुने गरेको छ भने स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा प्रतिभ्रमण खर्चको हिस्सा अन्यको तुलनामा उच्च (३१.७८ प्रतिशत) रहेको छ।
आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग तुलना गर्दा आन्तरिक पर्यटनले नेपालको अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान पुर्याएको अनुमान गरिएको छ। यस्तै, आन्तरिक पर्यटनबाट सिर्जित कुल वस्तु तथा सेवाको उत्पादन ३ खर्ब ८१ अर्ब ८४ करोड रुपैयाँ बराबरको रहेको र यसले कुल १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको सर्वेक्षणले देखाएको छ।
यस सर्वेक्षणको नतिजाले नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटन एक बलियो आधारस्तम्भका रूपमा उदाएको पुष्टि गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आगामी दिनमा यसले पर्यटन नीति निर्माण, पूर्वाधार विकास र क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ठोस नीतिगत आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।