काठमाडौँ। सस्ता चिनियाँ ट्रान्सफर्मरसँगको तीव्र मूल्य प्रतिस्पर्धाले स्वदेशी ट्रान्सफर्मर उद्योग दबाबमा परेको देखिएको छ। यसको प्रत्यक्ष असर नेपालकै पुराना ट्रान्सफर्मर उत्पादकमध्ये ‘निक’ ब्रान्ड निर्माण गर्ने कम्पनीमा परेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको हालै सार्वजनिक मूल्याङ्कन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले आफ्नो कुल उत्पादन क्षमताको केवल ७ प्रतिशत मात्र उपयोग गर्न सकेको छ। अघिल्लो आर्थिक वर्षमा क्षमता उपयोग १७ प्रतिशत रहेको थियो।
वार्षिक १८ हजार युनिट ट्रान्सफर्मर उत्पादन गर्न सक्ने उद्योगको अधिकांश उत्पादन क्षमता निष्क्रिय रहँदा स्थिर लागत बढेको र त्यसले व्यवसायको नाफामा प्रत्यक्ष असर गरेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ८३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी २०८१/८२ मा घटेर करिब ९३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।
नेपाल विद्युत् प्राधिकरणका ठूला आयोजना कम हुनु तथा कम्पनीको व्यवसाय मुख्यतः निजी क्षेत्रका साना आयोजनामा सीमित रहनु आम्दानी घट्नुको प्रमुख कारण मानिएको छ।
कम्पनीले विगतदेखि भुटानमा ट्रान्सफर्मर निर्यात गर्दै आए पनि गत आर्थिक वर्षमा निर्यात अपेक्षाअनुसार हुन सकेन। यद्यपि चालु आर्थिक वर्षमा निर्यात विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
प्रतिवेदनले केही सकारात्मक संकेत पनि देखाएको छ। सन् २०२६ मेसम्मका लागि कम्पनीसँग करिब ९५ करोड ७० लाख रुपैयाँ बराबरका खरीद आदेश सुरक्षित रहेकाले आगामी अवधिमा व्यवसायमा सुधार आउने अपेक्षा गरिएको छ।
तर कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा हुने परिवर्तन र विदेशी उत्पादकसँगको तीव्र मूल्य प्रतिस्पर्धा कायम रहेसम्म स्वदेशी ट्रान्सफर्मर उद्योगको नाफा सुधार सहज नहुने निष्कर्ष प्रतिवेदनले निकालेको छ।
स्वदेशी उद्योगहरूले उत्पादन क्षमता, रोजगारी र औद्योगिक आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यस्ता उद्योगलाई प्रतिस्पर्धी बनाउन नीतिगत सहयोग र बजार संरक्षण आवश्यक रहेको उद्योगीहरूको भनाइ छ।
स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धनमा प्रभावकारी पहल हुन नसके उद्योगहरू थप संकटमा पर्न सक्ने चिन्ता पनि बढ्दै गएको छ।