मनसुन शुरू भएसँगै सडक विभाग हाइअलर्टमा: पहिरो गएको आधा घण्टाभित्रै प्राविधिक टोली पुग्ने
'सेतु' एपबाट उपकरणको लाइभ ट्रयाकिङ
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
329
Shares
तस्बिर फाइल
काठमाडौँ । सडक विभागले मनसुनका समयमा हुन सक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कताका साथ पूर्वतयारी पूरा गरेको छ। विभागले १५ हजार किलोमिटर सडक सञ्जालमध्ये करिब १० हजार किलोमिटर 'अल वेदर' सडकलाई प्राथमिकतामा राखेर जनशक्ति र उपकरण परिचालन गरेको छ। विभागको नीति अनुसार मुख्य राजमार्गहरूमा पहिरो गएमा दिउँसोको समयमा आधा घण्टाभित्रै प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्रै बाटो खुलाउने लक्ष्य राखिएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार यस वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गर्दै 'सेतु' नामक सफ्टवेयरमार्फत देशभरका २ सय ७७ वटा हेभी इक्विपमेन्ट र तिनका अपरेटरहरूको 'लाइभ लोकेशन' ट्र्याक गर्ने व्यवस्था मिलाइएको छ। यसले पहिरो गएको सूचना आउनासाथ सबैभन्दा नजिक रहेको मेसिनलाई तत्काल घटनास्थलमा परिचालन गर्न सहज बनाउनेछ।
कमजोर भू-बनावटका कारण देशका विभिन्न स्थान पहिरोको जोखिममा रहे पनि नागढुङ्गा–मुग्लिङ, नारायणगढ–मुग्लिङ र कान्ति लोकपथका मुख्य पहिरोहरूलाई बायो–इन्जिनियरिङ र रक एङ्करिङ जस्ता प्रविधिमार्फत स्थिर (स्ट्याबलाइज) गरिसकिएको विभागले जनाएको छ। झ्याप्ले खोला, महेश खोला र कृष्णभिर जस्ता जटिल पहिरो नियन्त्रणमा आइसकेका छन् भने तुइन खोला लगायतका केही ठाउँमा काम जारी छ। महानिर्देशक जैसीले मनसुनको समयमा मौसम पूर्वानुमान बुलेटिन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अत्यावश्यक काम नपरी जोखिमपूर्ण मौसममा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरे।