विश्वकपमा इक्वेडरविरुद्ध मेक्सिको हावी, मध्यान्तरसम्म २–० ले अगाडि
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
207
Shares
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अहिले सहआयोजक मेक्सिको र इक्वेडर भिडिरहेका छन् । मेक्सिको सिटी स्टेडियममा भारी वर्षाका कारण एक घण्टा ढिला गरी खेल शुरू भएको हो ।
मध्यान्तरसम्मको खेलमा मेक्सिको हावी देखिएको छ । मेक्सिको २–० ले अगाडि रहेको छ ।
मेक्सिकोका लागि २२ औँ मिनेटमा युलियन क्विनोनेसले गोल गरे । उनले रोबर्टो अल्भाराडोको पासमा गोल गरेका हुन् ।
त्यस्तै ३१ औँ मिनेटमा राउल जिमेनेसले गोल गरे । उनलाई युलियन क्विनोनेसले पास दिएका थिए ।
मेक्सिकोले ५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको छ ।
घरेलु मैदानको फाइदा उठाउँदै मेक्सिको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्न चाहन्छ । इक्वेडर यसअघिका गल्ती सुधार गर्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।
मेक्सिकोले समूहका सबै तीन खेल जितेको थियो भने इक्वेडरले एक जित, एक बराबर र एक हार बेहोरेको थियो ।
मेक्सिको अहिलेसम्म दुई पटकमात्र क्वार्टरफाइनलसम्म पुग्न सकेको छ । मेक्सिको सन् १९७० र १९८६ मा क्वार्टरफाइनलमा पुगेको थियो ।
इक्वेडर सन् २००६ मा पहिलो पटक नकआउट स्टेजमा पुगेको थियो । अहिलेसम्म इक्वेडर क्वार्टरफाइनलसम्म पुगेको छैन ।
अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, नर्वे र फ्रान्स प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।
ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।
त्यस्तै फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो ।