arrow

जर्मनी विश्वकपको अन्तिम ३२ बाटै बाहिरियो, पाराग्वे पेनाल्टी सुटआउटमा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
wcf-2026-paraguay-julio-enciso.jpg

काठमाडौँ । उपाधि दावेदार जर्मनी विश्वकप फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ । अन्तिम ३२ को खेलमा आज बिहान पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित हुँदै जर्मनी पहिलो नकआउटबाटै बाहिरिएको हो । 

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमासमेत खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा खेल निर्णायक बनेको थियो । 

शुरूआती पाँच पेनाल्टीमा ३–३ को बराबरी भएसँगै डेथ पेनाल्टीमा पाराग्वे ४–३ ले विजयी भयो । 

पेनाल्टीमा जर्मनीका जोसुआ किम्मिच, जमाल मुसिआला र नदिम अमिरीले गोल गरे भने काइ हाभर्ट, निक वोल्टमेड र जोनाथन ताह भने असफल भए । 

पाराग्वेका मौरिसिओ, गुस्ताभो गोमेज, मातिआस गालार्जा र जोस कानाले गोल गर्न सफल भए । एन्टोनिओ सानाब्रिआ र फाबिअन बाल्बुएना भने गोल गर्न चुके । 
 

यसअघिको खेलको अवस्थाः 
नकआउट चरणको खेलमा निर्धारित ९० मिनेटसम्म दुवैले १–१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गयो । 

उक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । 

अतिरिक्त समयको १२ औँ मिनेटमा जर्मनीका जोनाथन ताहले गोल गरेका थिए । तर भीएआरले उक्त गोललाई खारेज गरेको थियो । 

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भयो । खेलको ४२ औँ मिनेटमा युलियो एन्सिसोको गोलमा पाराग्वेले अग्रता लियो । 

५४ औं मिनेटमा जर्मनीका काइ हाभर्टज्ले गोल गर्दै १–१ को बराबरीमा ल्याए । 

१२० मिनेटसम्मको खेलमा जर्मनीले ७५ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिए पनि समयमै जित हासिल गर्न सकेन । १२० मिनेटसम्म गोलका लागिसमेत धेरै प्रहार गरे पनि जर्मनी असफल भयो । 

दुवै टिमतर्फ २–२ ओटा पहेँलो कार्ड दिइयो । 
 



लोकप्रिय समाचार
नयाँ