राष्ट्रिय सभामा मन्त्रीहरूले मौखिक प्रश्नको उत्तर दिने
प्रविधिमार्फत हुने लैङ्गिक हिंसा रोक्ने सङ्कल्प प्रस्ताव पेस गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
214
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा समसामयिक राष्ट्रिय मुद्दा, मन्त्रालयगत सवाल-जवाफ र महत्त्वपूर्ण सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ।
बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा पढेर सदनलाई जानकारी गराउने कार्यक्रम छ।
त्यसैगरी बैठकमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यसूची समेत रहेको छ । जसअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित रहेर सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिनेछन्।
आजको बैठकको अर्को मुख्य आकर्षणका रूपमा रेनु चन्दले प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम र नियन्त्रण सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
उक्त प्रस्तावमा महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्नका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइनेछ।