केएमसीमा शल्यक्रिया बिना तार विधिबाट सफल उपचार, यसरी बचिन् शान्ती [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
337
Shares
काठमाडौँ । भक्तपुर चाँगुनारायणकी ४५ वर्षीया शान्ती रावत सामान्य रूपमा जीवनयापन गर्दै थिइन्। उनलाई पहिले पनि कहिलेकहीँ टाउको दुख्ने, रिंगटा लाग्ने र शरीर कमजोर हुने समस्या देखिन्थ्यो । औषधि सेवनपछि ठीक हुने भएकाले त्यति गम्भीर रूपमा लिइएको थिएन ।
एक दिन उनी आफ्नी बहिनीको घर खरिपाटी गएको बेला अचानक बेहोस भइन् र अवस्था एक्कासि जटिल बन्दै गयो। उनी भुइँमा नठोक्किएर कुर्सीमै ढल्न पुगेका कारण ठूलो चोटबाट जोगिइन् ।
त्यसपछि उनलाई तत्काल होसमा ल्याउने प्रयास गरियो तर अवस्था नफर्किएपछि एम्बुलेन्समार्फत राति साढे ८ बजे काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुर्याइयो ।
काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा पुगेपछि चिकित्सकहरूले तुरुन्तै उनको अवस्था मूल्याङ्कन गरे ।
सीटी स्क्यानलगायत सबै आवश्यक परीक्षण गर्दा मस्तिष्कको देब्रे भागमा रक्तस्राव भएको स्पष्ट देखियो। अवस्था गम्भीर भएकाले तत्काल न्युरोइन्टरभेन्सन विधिबाट उपचार गर्ने निर्णय गरियो ।
डा अरुण पौडेलको नेतृत्वमा रहेको न्युरोइन्टरभेन्सन टोलीले क्याथल्याबमा एन्जियोग्राफी गरेर थप जाँच गर्दा दिमागको रक्तनलीमा “बेलुन” अर्थात् एन्युरिज्म रहेको पुष्टि भयो। त्यो संरचना ठूलो र जोखिमपूर्ण भएकाले उपचार अत्यन्त संवेदनशील थियो ।
परिवारसँग सल्लाहपछि शिर नखोली तार विधिबाट, अर्थात् कोइल र स्टेन्टको सहायताले रक्तनलीभित्रैबाट रक्तस्राव नियन्त्रण गर्ने उपचार गरियो । लामो र सूक्ष्म प्रक्रियापछि उपचार सफल भयो र रक्तस्राव नियन्त्रणमा आयो ।
उपचारपछि केही दिनसम्म टाउको दुख्ने समस्या देखिए पनि विस्तारै शान्तीको अवस्था सुधार हुँदै गयो । जमेको रगत क्रमशः सोसिँदै गयो र उनी पूर्ण रूपमा होसमा फर्किइन् ।
केही समयपछि उनलाई पूर्ण रूपमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरियो।
अस्पतालको बसाइका क्रममा शान्तिले आफूलाई नयाँ जीवन प्राप्त भएको अनुभूति गरिन् । उनले उपचारमा संलग्न चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीप्रति भावुक हुँदै धन्यवाद व्यक्त गरिन् ।
आँसु झार्दै उनले भनिन्, 'समयमै सही उपचार पाएर म बाँच्न सकेँ, तपाईंहरू मेरो लागि भगवान् समान हुनुहुन्छ।'
परिवारका सदस्यहरूले पनि शान्तीको जीवन बचाउन सफल भएको भन्दै सम्पूर्ण टोलीप्रति गहिरो आभार प्रकट गरे।