arrow

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
sisir-16.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। वर्तमान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको स्पष्ट पार्दै उनले विदेशस्थित नेपाली नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ क्रमशः उन्मुख भइरहेको बताए। मन्त्रालयद्वारा आयोजित ‘प्रा. यदुनाथ खनाल व्याख्यान शृङ्खलाको पाँचौँ संस्करण’ मा बोल्दै मन्त्री खनालले परराष्ट्र नीतिले अन्ततः जनताको कल्याण, आकाङ्क्षा र समृद्धिको सेवा गर्नुपर्ने धारणा राखे।

विश्वमा प्रमुख शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै उनले आर्थिक साधन, आपूर्ति शृङ्खला र महत्त्वपूर्ण पूर्वाधारले अन्तर्राष्ट्रिय सम्बन्धमा बढ्दो प्रभाव पारिरहेको बताए। कृत्रिम बुद्धिमत्ता (AI) तथा डिजिटल अर्थतन्त्रलगायत उदीयमान प्रविधिले शक्ति र अवसरको विश्वव्यापी वितरणलाई पुनः परिभाषित गरिरहेको भन्दै उनले नेपालजस्ता देशहरूका लागि यी परिवर्तनले चुनौती र अवसर दुवै ल्याएको उल्लेख गरे। लामो समयदेखि सुरक्षा कवच प्रदान गर्दै आएको बहुपक्षीय प्रणाली बढ्दो दबाबमा परे पनि सहकार्य र आर्थिक साझेदारीका नयाँ सम्भावना उदाइरहेकाले नेपालले यस परिवर्तनशील परिवेशलाई स्पष्टता, आत्मविश्वास र विवेकशीलताका साथ सामना गर्नुपर्ने उनको भनाइ छ।

नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशील, असंलग्नता तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको मन्त्री खनालले स्पष्ट पारे। असंलग्नतालाई निष्क्रियता वा एकान्तताका रूपमा बुझ्न नहुने भन्दै यसका लागि सक्रिय संलग्नता र अन्तर्राष्ट्रिय घटनाक्रमलाई नेपालको आफ्नै हितको दृष्टिकोणबाट मूल्याङ्कन गर्ने क्षमता आवश्यक पर्ने उनले बताए। विशेष गरी युवापुस्ताले परिणाम र अवसरको अपेक्षा गरेकाले सरकारले सुशासन र तीव्र आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए।

भूराजनीति नेपालका लागि स्थायी यथार्थ भए पनि प्रत्येक विषयलाई केवल भूराजनीतिक दृष्टिकोणबाट मात्र हेर्नु नहुने मन्त्री खनालले उल्लेख गरे। बाह्य घटनाक्रमको अत्यधिक सतर्क वा सङ्कीर्ण व्याख्याले कहिलेकाहीँ विकास र सहकार्यका वैध अवसरहरूलाई सीमित गर्न सक्ने उनको तर्क छ। आपसमा अन्तरसम्बन्धित विश्वमा भूगोललाई सीमितताका रूपमा मात्र नहेरी विचार, बजार र अवसरहरू जोड्ने पुलका रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए। छिमेकी मुलुकहरू भारत र चीनका आफ्ना हालैका भ्रमणहरू व्यावहारिक सहकार्य र पारस्परिक हितका साझेदारीमा केन्द्रित रहेको उनले जानकारी दिए।

विदेशमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षा, सम्मान र कल्याण परराष्ट्र नीतिको सर्वोच्च प्राथमिकतामा रहेको मन्त्री खनालले बताए। नेपालको परराष्ट्र नीतिसम्बन्धी गम्भीर विमर्शका लागि आयोजित यस वर्षको व्याख्यान शृङ्खलाको मुख्य विषय ‘नेपालको परराष्ट्र नीतिः भूराजनीतिक तथा भूआर्थिक प्रवृत्तिहरूबीच मार्गनिर्देशन’ रहेको थियो। कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परिवर्तनशील भूराजनीतिक तथा भूआर्थिक परिदृश्यमा नेपालको परराष्ट्र नीतिका अवसर र सीमितताका बारेमा मुख्य वक्तव्य दिएका थिए।



लोकप्रिय समाचार
नयाँ