प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले भने- सीमासम्बन्धी अभिव्यक्ति 'क्रस बोर्डर अकुपेसन' सँग सम्बन्धित छ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
264
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ (सीमापार उपयोग-उपभोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्रीको कूटनीतिक अभिव्यक्तिका बारेमा सरकारी पक्षबाट स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।
मन्त्री खनालले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेसन’ सम्बन्धी अभ्यास र विवादहरू रहेको उल्लेख गरे। उनले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयुक्त प्राविधिक संयन्त्रमार्फत म्यापिङ (नक्साङ्कन) को कार्य भइरहेको र यसको विस्तृत विवरण अध्ययन सम्पन्न भएपछि सार्वजनिक गरिने सदनलाई जानकारी दिए।
सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको र प्रधानमन्त्रीको भनाइ पनि यही प्राविधिक यथार्थको सन्दर्भसँग जोडिएको मन्त्री खनालले स्पष्ट पारे।
उनले भने, "नेपाल–भारतको सीमानाकामा क्रस बोर्डर अकुपेसनसहित के कति ठाउँमा समस्या वा विवाद रहेको छ भन्ने विषयमा संयन्त्रहरूले म्यापिङको कार्यहरू गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरू हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आ–आफ्नो उपभोगमा रहेको दाबी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा राख्नुभएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र यही क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।"
परराष्ट्रमन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको स्थायी निरूपण र समाधान कसरी गर्ने भन्ने नै रहेको बताए। नेपाल–भारत सीमा विषय विशुद्ध द्विपक्षीय मुद्दा भएकाले स्थापित ऐतिहासिक सन्धि–सम्झौता, पुराना नक्सा तथा तथ्यहरूका आधारमा समाधान खोजिने उनले प्रस्ट पारे। दुई देशबिच रहेको घनिष्ठ र ऐतिहासिक सम्बन्धको मर्म तथा भावनाअनुरूप कूटनीतिक संवाद र वार्ताका माध्यमबाट नै यस समस्याको समाधान गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले संसद् समक्ष दोहोर्याए।