एनडीटीभीसँगको विशेष संवादमा परराष्ट्रमन्त्री खनालले के भने ?
नेपाल-भारत सम्बन्धलाई नयाँ शिराबाट सुदृढ गर्न सरकार तत्पर
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
245
Shares
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न वर्तमान सरकार पूर्ण रूपमा तत्पर रहेको बताएका छन्।
भारतीय सञ्चारमाध्यम ‘एनडीटीभी’सँग आज नयाँ दिल्लीमा विशेष संवाद गर्दै मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्षकै छोटो अवधिमा जनचाहना र व्यापक जनसमर्थनबाट सरकारको नेतृत्वमा पुगेको उल्लेख गरे। उनले नयाँ राजनीतिक मार्गचित्रसहित आएको सरकार दुई देशको बहुआयामिक सम्बन्धलाई समयसापेक्ष र अझ प्रगाढ बनाउन केन्द्रित रहेको स्पष्ट पारे।
नेपाल र भारतबीच खुला सिमाना भए पनि दुवै देशले एकअर्काको सुरक्षा सरोकार र संवेदनशीलतालाई पूर्ण रूपमा आत्मसात् गरेको उल्लेख गर्दै मन्त्री खनालले आपसी हार्दिक सम्बन्धलाई आर्थिक र प्राविधिक साझेदारीमा बदल्नुपर्नेमा जोड दिए।
यसअघि मौरिससमा आयोजित एक कार्यक्रमका क्रममा आफ्ना भारतीय समकक्षी एस. जयशङ्करसँग भएको भेटको सन्दर्भ जोड्दै उनले सम्भव भएका सबै क्षेत्रमा सहकार्य अघि बढाउनुपर्ने धारणा राखे। मन्त्री खनालले व्यापार, ऊर्जा, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, आधुनिक प्रविधि र कनेक्टिभिटी (सम्पर्क सञ्जाल) जस्ता क्षेत्रमा नेपालले भारतको रणनीतिक सहयोग, लगानी र सहकार्यको ठुलो अपेक्षा गरेको बताए।
बङ्गलादेशमा नेपालको विद्युत् निर्यात गर्ने दीर्घकालीन योजनामा भारतको पूर्ण साथ रहने विश्वास व्यक्त गर्दै मन्त्री खनालले भने, “हामी विगतका पुराना र अल्झिएका कुराहरू मात्र लिएर अगाडि बढेका छैनौँ। विगतमा हामीले हाम्रा दुई ठुला छिमेकी मुलुकहरूको आर्थिक विकासबाट जति लाभ लिन सक्नुपर्दथ्यो, त्यति लिन सकेनौँ। अब हामी पारस्परिक लाभ र सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्धको अधिकतम प्रयोग गर्नेछौँ। हामी अझ राम्रो सहकार्यका नयाँ क्षेत्र पहिचान गर्दै नेपाली जनताको जीवनस्तर सुधार्न बहुआयामिक सहकार्य स्थापित गर्न चाहन्छौँ।”
रास्वपा सभापति रवि लामिछानेको हालै भएको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) र भारत सरकारका तर्फबाट भएको भव्य स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा लैजान थप उत्प्रेरणा मिलेको परराष्ट्रमन्त्री खनालले उल्लेख गरे।
आफ्नो यस भ्रमणका क्रममा नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाहरूको गुणस्तर विकास र सूचना प्रविधिको क्षेत्रमा चाँडै नै दुई देशबीच ठोस सहकार्यका लागि महत्त्वपूर्ण सहमति जुट्ने विश्वास उनले व्यक्त गरे।