अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास र समृद्धिमा उपयोग गर्न सरकार प्रतिबद्ध: परराष्ट्रमन्त्री खनाल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
576
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्द्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थासँगको कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे।
नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको स्पष्ट पार्दै मन्त्री खनालले नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य–मान्यताका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको बताए। राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु नै नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
परराष्ट्र मन्त्रालयभित्र हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई समयमै सेवा प्रदान गर्न आफू लागिपरेको मन्त्री खनालले बताए। राहदानी वितरण प्रक्रियालाई निकै सहज बनाइएको दाबी गर्दै उनले पहिले हप्तौँ लाग्ने राहदानी अहिले आवेदन दिएको दुई–तीन दिनमै र कतिपय अवस्थामा भोलिपल्टै उपलब्ध गराउन सक्ने अवस्थामा पुर्याइएको जानकारी दिए।
विदेशमा रहेका नेपालीका समस्या तत्काल सम्बोधन गर्न मन्त्रालयले ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरेको मन्त्री खनालले बताए। अब विदेशमा अलपत्र परेका वा समस्यामा परेका नेपालीले उक्त एपमार्फत सिधैँ आफ्नो गुनासो दर्ता गर्न सक्ने र त्यसको अनुगमन मन्त्रीस्तरबाटै हुने व्यवस्था मिलाइएको उनले प्रस्ट पारे।
निर्वाचनपछि सरकारले सार्वजनिक गरेको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको उल्लेख गर्दै मन्त्री खनालले वि।सं। २०६३ पछि महत्त्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने तथा पुराना भ्रष्टाचारका फाइलहरू खोल्ने प्रक्रिया अघि बढेको जानकारी दिए। राज्यको फजुल खर्च नियन्त्रण गर्नका लागिसमेत मन्त्रालयहरूको सङ्ख्या घटाइएको उनले बताए।
काठमाडौँको गोँगबु क्षेत्रमा जमिनमुनिको पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री खनालले शिवपुरी जलाधार क्षेत्रको पानी व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए। चीनसँग चक्रपथ विस्तारको सम्झौता भइसकेकाले अब निर्माण कार्यले गति लिने र गोँगबु क्षेत्रको अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग समन्वय गरी तत्काल काम थालिने उनले बताए।