पहिरोको जोखिम बढेपछि लमजुङका दुई मुख्य राजमार्गमा रात्रिकालीन सवारी रोक
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
422
Shares
काठमाडौँ । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद् र सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै लमजुङका दुई महत्त्वपूर्ण सडकखण्डमा रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको सोमबार बसेको बैठकले असार मसान्तसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सवारीसाधन चलाउन नपाइने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार वर्षाको समयमा हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न यो कदम चालिएको हो। जसअन्तर्गत लमजुङ र मनाङ जोड्ने एक मात्र विकल्पको रूपमा रहेको बेँसीसहर-चामे सडकखण्डको बेँसीसहरदेखि मनाङको सिमानासम्म प्रत्येक दिन साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी आवतजावत बन्द रहनेछ।
त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत सुन्दरबजार-भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा पनि प्रत्येक दिन साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्मका लागि गाडी गुड्न पाउने छैनन्। तर एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका सवारीसाधनलाई भने रोकिने छैन।
भौगोलिक रूपमा विकट र भिरालो जमिन रहेका कारण यी सडकखण्डहरूमा बर्सेनि बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने र यात्रुहरू अलपत्र पर्ने समस्या रहँदै आएको छ। विशेष गरी बेँसीसहर-चामे सडकखण्ड अवरुद्ध हुँदा मनाङबासीले हेलिकप्टर चार्टर गरेर महँगो यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ भने मध्यपहाडी लोकमार्गको बिमिरे भञ्ज्याङ क्षेत्र पनि पहिरोका कारण सधैं जोखिममा रहने गर्दछ।
मौसम विभागले आगामी दिनहरूमा भारी वर्षाको सम्भावना रहेको बताएकाले रात्रिकालीन समयमा दुर्घटनाको सम्भावना उच्च हुने प्रशासनको ठहर छ। जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै यो निर्णयबाट यात्रुहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सुरक्षाका लागि सहयोग गर्न सबैमा अपिल गरेको छ।