arrow

दुई बाली प्रणालीमा जोड

धानखेत जोगाउन नसके भविष्यमा ‘थाली नै खाली’ हुने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
chaitey-dhan-paddy.JPG

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा देशको खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै शिखरमा पुगे पनि धान उत्पादनका लागि धानखेतकै आवश्यकता पर्ने बताए। "घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो। आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ। त्यसैले धान खेत जोगाउनु सबैको साझा दायित्व हो," उनले भने।

अहिले जग्गा प्लटिङ, जलवायु परिवर्तनको असर, तीव्र बसाइँसराइ तथा बढी नाफा दिने अन्य नगदे बालीतर्फ किसान आकर्षित हुँदा धानखेतीको क्षेत्रफल खुम्चिँदै गएको मिश्रले उल्लेख गरे। उनले थपे, "अहिले किसानहरू धानभन्दा मकै, उखुलगायत बढी आम्दानी हुने बालीतर्फ आकर्षित भइरहेका छन्। यसले भविष्यमा हाम्रो थाली नै खाली हुने हो कि भन्ने चिन्ता बढेको छ।"

नेपालमा पाइने स्थानीय धानका रैथाने जातहरूको संरक्षणमा जोड दिँदै उनले विगतमा एउटै गाउँ र एउटै घरमा समेत पाँच–पाँच वटा स्थानीय जात भेटिने गरेको स्मरण गरे। "हामी धानका रैथाने जातमा निकै समृद्ध छौँ। यदि यी स्थानीय जात हराए भने बजारले ती जात फर्काएर दिन सक्दैन। त्यसैले यसको संरक्षण अत्यन्त आवश्यक छ," मिश्रले स्पष्ट पारे।

नेपालमा धान उत्पादन बढाउने प्रचुर सम्भावना रहेको औँल्याउँदै उनले हाल प्रतिहेक्टर औसत उत्पादन करिब चार टनको हाराहारीमा मात्रै सीमित रहेको बताए। अन्य मुलुकले प्रतिहेक्टर १० टनसम्म उत्पादन गरिरहेको अवस्थामा नेपालले आफ्नो उत्पादनलाई कम्तीमा आठ टनसम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो। "हामी अहिलेसम्म वर्षमा एक बाली धानमा मात्र सीमित छौँ। यदि चैते धानको विस्तार गर्दै दुई बाली धान प्रणालीमा जान सक्यौँ र एकदेखि दोब्बर लाख हेक्टर क्षेत्रमा चैते धान फलाउन सक्यौँ भने देशमा भातको अभाव कहिल्यै हुँदैन," उनले दाबी गरे।

कार्यक्रममा बोल्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले धान अनुसन्धानको क्षेत्रमा अझै पनि आधुनिक प्रविधिको प्रयोग पर्याप्त हुन नसकेको स्वीकार गरे। उनले भने, "हामी आधुनिक प्रविधिमा अपेक्षित रूपमा जम्प गर्न सकिरहेका छैनौँ। विशेषगरी धान तथा विभिन्न हाइब्रिड जातहरूको अनुसन्धानका लागि जुटबाली अनुसन्धान केन्द्र रहेको स्थानमा नयाँ अनुसन्धान केन्द्र स्थापना गर्ने हाम्रो योजना छ। त्यसका लागि आवश्यक लगानी उपलब्ध गराइदिन म कृषि मन्त्रालयसँग अनुरोध गर्दछु।"

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आयोजित उक्त विशेष कार्यक्रममा कृषि वैज्ञानिक, कृषि विज्ञ, स्थानीय किसान तथा विभिन्न सरकारी निकायका उच्च अधिकारीहरूको बाक्लो सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ