हिलेजात्रा सम्पन्नसँगै रोपाइँको चटारो, परम्परा र आस्थाको अद्भभूत संगम
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
249
Shares
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा हरेक वर्ष जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा मनाइने हिलेजात्रा (ज्याःपुन्ही) धार्मिक आस्था, सांस्कृतिक परम्परा र कृषि जीवनसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।
तीन दिनसम्म चल्ने यो जात्रा सम्पन्न भएलगत्तै पनौतीवासी खेतमा रोपाइँ शुरू गर्ने परम्परा आज पनि जीवित छ।
स्थानीय जनविश्वासअनुसार "जेष्ठ शुक्ल पूर्णिमामा जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात जाग्राम नबस्नेले जीवनमा सुख प्राप्त गर्दैन" भन्ने मान्यता रहिआएको छ। यही विश्वासका कारण हरेक वर्ष ठूलो उत्साहका साथ जात्रा मनाइन्छ।
स्थानीयका अनुसार जात्रा सुरु भएलगत्तै केही दिन हावाहुरी चल्ने र त्यसपछि वर्षा सुरु हुने परम्परागत अनुभव छ। जात्राको अन्तिम दिन वर्षा हुनुलाई शुभ संकेत मानिन्छ, जसले आगामी रोपाइँ सफल हुने विश्वास गरिन्छ।
नागको स्मरणमा शुरू भएको परम्परा
स्थानीय किम्वदन्तीअनुसार प्राचीनकालमा ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जाँदा पुण्यमाता खोलामा आएको बाढीका कारण आवतजावत कठिन भएपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग आएर पुलजस्तै तेर्सिएर देवतालाई खोला पार गराएका थिए।
यही घटनाको स्मरणमा हरेक वर्ष त्रयोदशीका दिन करिब ५० मिटर चौडा पुण्यमाता खोलामा दुईटा बाँस तेर्स्याएर नागको प्रतीकात्मक पूजा गरिन्छ। त्यसपछि देवतालाई खोला तर्ने विधि सम्पन्न गरिन्छ, जसलाई जात्राको शुरूआत मानिन्छ।
रथ जुधाइ जात्राको मुख्य आकर्षण
चतुर्दशीका दिन नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विशेष पूजा गरिन्छ भने पूर्णिमाको दिन बिहानै भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथ नगर परिक्रमा गराइन्छ। यस जात्राको सबैभन्दा आकर्षक पक्ष भनेको रथ जुधाइ हो।
धार्मिक मान्यताअनुसार भद्रकालीले महादेवलाई पछ्याउने र अन्ततः महादेवले भैरवको रूप धारण गरी भद्रकालीलाई पराजित गर्ने पौराणिक घटनाको प्रतीकस्वरूप रथहरू एकआपसमा जुधाइन्छ।
धार्मिक विश्लेषणमा यसलाई सृष्टि, उर्वरता र प्रजनन शक्तिको प्रतीकात्मक प्रस्तुति मानिन्छ। रथ जुधाइसँगै अबिर जात्रा पनि धूमधामका साथ मनाइन्छ, जसमा विशेषगरी युवायुवतीको उत्साहपूर्ण सहभागिता रहने गर्दछ।
जात्रापछि शुरू हुन्छ रोपाइँ
हिलेजात्रा सकिएलगत्तै खेतमा रोपाइँ शुरू गर्ने चलन भएकाले यसलाई हिलेजात्रा अर्थात् "हिलोमा प्रवेश गर्ने जात्रा" पनि भनिन्छ। स्थानीय विश्वासअनुसार जात्रापछि नागराज प्रसन्न भई पर्याप्त वर्षा गराउने भएकाले खेती राम्रो हुने मान्यता छ।
कुनै वर्ष जात्रा हुन नसके खडेरी, अनिकाल वा अन्य प्राकृतिक विपत्ति आउने जनविश्वासका कारण पनि यो परम्परा निरन्तर रूपमा संरक्षण हुँदै आएको छ।
चिउली, केरा र पाहुनाको सत्कार
जात्राका बेला चिउली र केरा खाएर घुम्ने विशेष चलन छ। स्थानीयहरू आफ्ना आफन्त र पाहुनालाई घर बोलाएर विशेष भोज खुवाउने गर्छन्। धेरै घरमा परम्पराअनुसार बलि दिएर भोज आयोजना गर्ने प्रचलन अझै कायम छ।
धार्मिक महत्वले भरिएको पनौती
पनौती धार्मिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ। यहाँ रहेको इन्द्रेश्वर महादेव मन्दिर, अहिल्या शिला तथा त्रिवेणीघाट विशेष आस्थाका केन्द्र हुन्।
त्रिवेणीघाटमा पुण्यमाता, रोशी र गुप्तरूपमा बग्ने पद्मावती नदीको संगम रहेको विश्वास गरिन्छ। यही कारण यहाँ प्रत्येक १२ वर्षमा भव्य मकर मेला लाग्ने परम्परा छ, जहाँ नेपालका साथै भारतबाट समेत हजारौं श्रद्धालु दर्शनका लागि आउने गर्छन्।
धार्मिक विश्वास, ऐतिहासिक महत्व, सांस्कृतिक सम्पदा र कृषि परम्परालाई एउटै सूत्रमा बाँध्ने पनौतीको हिलेजात्रा नेपालका विशिष्ट सांस्कृतिक पर्वहरूमध्ये एक मानिन्छ। रासस