काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरूले ५० वर्षपछि लालपुर्जा पाउन थालेका छन् ।
यसका लागि जिल्लास्थित नापी र मालपोत कार्यालयका कर्मचारी जग्गाधनीको पहिचान गर्दै लालपुर्जा दिलाउन व्यस्त रहेका छन् ।
हालसम्म ५ सय ३१ जग्गाधनीलाई लालपूर्जा उपलब्ध गराएको जिल्ला नापी कार्यालयले जनाएको छ। लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पुर्याएर औपचारिक रुपमा गत भदौदेखि वितरण गर्न थालिएको हो ।
उनीहरुलाई गत भदौ ३ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा वितरणको शुरूआत गरेका थिए । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपुर्जाको पर्खाइमा थिए ।
प्रारम्भिक चरणमा भुम्लु-७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
त्यसयता १०० लालपुर्जा तयार भई वितरण भइरहेको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले बताए । उनका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पुर्याएर लालपुर्जा वितरण भइरहेको छ ।
भुम्लुको न्यौपाने गाउँका ५२ परिवारको जग्गा पहिचान भई लालपुर्जा दिने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिए । समस्या समाधन गर्न नापी कार्यालयले २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । विसं २०७६ मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालय समेत स्थापना गरिएको थियो ।
साविकको पिपलटार गाविस हुँदादेखि नै खेतीपाती गरिँदै आएको ‘टार’ खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वबीच विवाद भएका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् ।
विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।
कार्यालयले लालपुर्जा विरतण गरेपछि जग्गासम्बन्धी सबै स्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुक नापी कार्यालयमा ल्याई जग्गा प्रशासनको नयाँ काम हुने जनाएको छ ।
केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत-भिड्ने’ आवश्यक कागजात नल्याउँदा काम गर्न केही समस्या भइरहेको भुसालले बताए । यस्तै तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरो तिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको छ ।
उक्त स्थानमा लालपुर्जाको समस्या वर्षौंसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समितिसमेत गठन गरिएको थियो । कयौँपटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन-निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निस्कएको थिएन । रासस