यस्तो छ विश्वकप नकआउट चरणको तालिका, ३२ टोलीबीच 'गर या मर' को लडाईँ
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
483
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै 'राउन्ड अफ ३२' अर्थात् नकआउट चरणको पूर्ण खेल तालिका सार्वजनिक भएको छ।
इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ वाइल्डकार्ड टोलीहरू गरी कुल ३२ टोलीले उपाधिका लागि नकआउट भिडन्त गर्ने तय भएको छ।
नेपाली समय अनुसार सोमबार बिहानदेखि शुरू हुने यस चरणमा अब हुने एउटै हारले पनि टोलीको विश्वकप यात्रा समाप्त गर्ने भएकाले प्रत्येक खेल निकै प्रतिस्पर्धात्मक र निर्णायक हुनेछन्।
नकआउट चरणको उद्घाटन खेलमा सोमबार बिहान १२:४५ बजे क्यालिफोर्नियाको लस एन्जलस स्टेडियममा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका र समूह ‘बी’ को उपविजेता क्यानडा आमनेसामने हुँदैछन्।
यस्तै असार १६ गते मंगलबार बिहान २:१५ बजे म्यासाचुसेट्सको बोस्टन स्टेडियममा बलियो जर्मनीले वाइल्डकार्ड टोली पराग्वेको सामना गर्नेछ।
सोमबार राति २२:४५ बजे टेक्ससको ह्युस्टन स्टेडियममा पाँच पटकको विश्वविजेता ब्राजिलले एसियाली पावरहाउस जापानसँग खेल्नेछ भने असार १६ गते मङ्गलवार बिहान ६:४५ बजे मेक्सिकोको मोन्टेरे स्टेडियममा उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्स र अफ्रिकी उपविजेता मोरक्कोबिच भिडन्त हुनेछ।
असार १६ गते मङ्गलवार राति २२:४५ बजे टेक्ससको डलास स्टेडियममा आइभोरी कोस्ट र नर्वे भिड्नेछन् भने असार १७ गते बुधबार बिहान २:४५ बजे न्यु जर्सीको न्यु योर्क न्यु जर्सी स्टेडियममा फ्रान्सले स्वीडेनको सामना गर्नेछ।
सोही दिन बिहान ६:४५ बजे मेक्सिको सिटी स्टेडियममा आयोजक मेक्सिको र इक्वेडर आमनेसामने हुँदा राति २१:४५ बजे जर्जियाको एटलान्टा स्टेडियममा इङ्गल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग प्रतिस्पर्धा गर्ने कार्यसूची रहेको छ।
असार १८ गते बिहीबार बिहान १:४५ बजे वासिङ्टनको सेटल स्टेडियममा बेल्जियम र सेनेगलबिच खेल हुनेछ भने सोही दिन बिहान ५:४५ बजे क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा अर्को आयोजक संयुक्त राज्य अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्नेछ।
असार १९ गते शुक्रबार बिहान १२:४५ बजे लस एन्जलस स्टेडियममा स्पेन र अस्ट्रिया भिड्नेछन् भने शुक्रबारै बिहान ४:४५ बजे ओन्टारियोको टोरन्टो स्टेडियममा पोर्चुगल र क्रोएसियाबिच कडा प्रतिस्पर्धा हुनेछ।
यसैगरी शुक्रबार बिहान ८:४५ बजे क्यानडाको भ्यानकुभर स्टेडियममा स्विट्जरल्याण्ड र अल्जेरिया आमनेसामने हुनेछन् भने सोही दिन राति २३:४५ बजे डलास स्टेडियममा अष्ट्रेलिया र इजिप्टबिच खेल हुनेछ।
असार २० गते शनिबार बिहान ३:४५ बजे फ्लोरिडाको मियामी स्टेडियममा साविक विजेता अर्जेन्टिनाले केप भर्डेसँग खेल्नेछ भने नकआउट चरणको अन्तिम खेलमा शनिबार बिहान ७:१५ बजे मिसौरीको कान्सास सिटी स्टेडियममा कोलम्बिया र घाना भिड्नेछन्।
यस चरणमा विजयी हुने टोलीहरू सिधै क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् भने पराजित हुने टोलीहरू प्रतियोगिताबाट बाहिरिनेछन्, जसले गर्दा विश्वका दिग्गज टोलीहरूका लागि अबको प्रत्येक खेल 'कर या मर' को स्थितिमा रहनेछ।