जनचेतनाको अभावले पाँच वर्षमै क्यान्सरका बिरामी दोब्बर
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
196
Shares
काठमाडौँ। नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा क्यान्सरका बिरामीको संख्या झण्डै दोब्बरले बढेको देखिएको छ। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका अनुसार सरकारबाट उपचार खर्चबापत सहुलियत लिने क्यान्सरका बिरामीको संख्या आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा बढेर २८ हजार ६७८ पुगेको छ।
महाशाखाकी निर्देशक हिरादेवी निरौलाले जनचेतनाको अभावका कारण क्यान्सरका बिरामी बढिरहेको बताउँदै यसबाट बच्न सरकार, नागरिक समाज र सरोकारवाला निकायले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
महाशाखाका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ३१, आर्थिक वर्ष २०७९/८० मा १६ हजार ६९६ र आर्थिक वर्ष २०८०/८१ मा २२ हजार १५३ जना क्यान्सरका बिरामीले उपचार खर्चबापत सरकारी सहायता प्राप्त गरेका छन्।
सरकारले विपन्न नागरिक औषधि उपचार कोषमार्फत क्यान्सरका बिरामीलाई एक लाख रुपैयाँसम्म उपचार सहायता उपलब्ध गराउँदै आएको छ। यसका साथै अधिकांश प्रदेश सरकारले पनि थप एक लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था गरेका छन्।
स्वास्थ्य सेवा विभागका अनुसार शरीरका कोष तथा कोषिकाको असामान्य वृद्धि भएर बन्ने गिर्खा वा ट्युमरलाई क्यान्सर भनिन्छ। नेपालमा विशेषगरी फोक्सो, पाठेघरको मुख, स्तन, पेट तथा आन्द्राको क्यान्सर बढी देखिने गरेको छ। पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख रहेको विभागले जनाएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार अत्यधिक मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, आधुनिक जीवनशैली, पर्याप्त आरामको अभाव, विकिरणको प्रभाव, जीवाणु संक्रमण तथा वंशाणुगत कारणले क्यान्सरको जोखिम बढ्ने गर्दछ।
उनले परम्परागत पौष्टिक खानाको सट्टा फास्टफुड, जङ्कफुड, पोलेका खानेकुरा तथा बासी-सडेगलेका खाद्यवस्तुको सेवन, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख जोखिम कारक रहेको बताए। उनका अनुसार स्वस्थ खानपान, नियमित व्यायाम, धुम्रपान तथा मद्यपानबाट टाढा रहने र तौल नियन्त्रणमा राख्न सके क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ।
नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र त्यसपछि महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ। सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरीहरूलाई ‘ह्युमन पापिलोमा भाइरस (एचपिभी)’ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।
हाल भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट विशिष्टीकृत क्यान्सर उपचार सेवा प्रदान हुँदै आएको छ। रासस