काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नतिजा प्रकाशनमा कुनै हतार नगरी आवश्यक जनशक्ति थप गरेर तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा ल्याइएको स्पष्ट पारेका हुन्।
मन्त्री पोखरेलले परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति आफूहरू स्पष्ट र विश्वस्त रहेको उल्लेख गर्दै लेखेका छन्, "नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो।"
नतिजालाई लिएर विद्यार्थीहरूले गरिरहेको आन्दोलनप्रति सरकारको सम्मान रहेको पनि मन्त्री पोखरेलले बताएका छन्। लोकतान्त्रिक समाजमा आफ्ना धारणा राख्ने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै उनले आन्दोलनरत पक्षप्रति संयमित व्यवहार गर्न आग्रह गरेका छन्। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका विद्यार्थी वा समूहप्रति सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा भइरहेका नकारात्मक टिप्पणी, दुर्व्यवहार वा गालीगलौज नगर्न पनि उनले सबैसँग अनुरोध गरेका छन्।
यसैबिच, परीक्षाको नतिजालाई लिएर उठेका जिज्ञासा र प्रश्नहरूको विस्तृत अध्ययन गर्न सरकारले एक विशेष समिति गठन गरेको जानकारी मन्त्री पोखरेलले दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी गठित यस समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको सूक्ष्म भेरिफिकेसन (प्रमाणीकरण) गर्ने उनले बताएका छन्।