सैन्य खर्च व्यवस्थापन गर्न ट्रम्प प्रशासनले माग्यो ८७ अर्ब डलरभन्दा बढी अतिरिक्त बजेट
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
488
Shares
वासिङ्टन । इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्च व्यवस्थापन गर्न ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनलाई लिएर कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस सिर्जना गरेको छ।
ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार कङ्ग्रेसलाई पठाएको पत्रमा इरानसँग सम्बन्धित ‘अपरेसन एपिक फ्युरी’ का तत्काल आवश्यकतासहित अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण र अमेरिकी किसानलाई सहयोग गर्न अतिरिक्त बजेट आवश्यक रहेको उल्लेख गरेको छ।
प्रस्तावित रकममध्ये करिब ७० अर्ब डलर रक्षा मन्त्रालयका लागि छुट्याइएको छ। यो रकम सैन्य तयारी, सैनिक कर्मचारीको खर्च, युद्धका क्रममा प्रयोग भएका हतियार तथा सामग्रीको पुनः भण्डारण, सञ्चालन खर्च तथा गोप्य कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ।
अतिरिक्त बजेट प्रस्तावमा अमेरिकी किसानलाई सहयोग गर्न ११ अर्ब डलर तथा अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रणका लागि एक अर्ब ४० करोड डलर विनियोजन गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, वासिङ्टन डीसी तथा आसपासका क्षेत्रमा पुनर्निर्माण र पूर्वाधार आयोजनाका लागि ५० करोड डलर तथा न्युयोर्कस्थित पेन स्टेसनको नवीकरण कार्य सम्पन्न गर्न थप एक अर्ब डलर माग गरिएको छ।
इरानसँगको युद्धप्रति जनसमर्थन कमजोर बन्दै गएका बेला यो खर्च प्रस्तावले कङ्ग्रेसमा कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ। दुवै दलका केही सांसदहरूले युद्धसम्बन्धी थप खर्चप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
यसैबीच अमेरिकी सिनेटले मङ्गलबार इरानसम्बन्धी युद्ध अधिकार प्रस्ताव पारित गर्दै कङ्ग्रेसको स्वीकृतिबिना राष्ट्रपति ट्रम्पले थप सैन्य कारबाही शुरू गर्न नपाउने व्यवस्था गरेको छ। फेब्रुअरीको अन्त्यदेखि शुरू भएको द्वन्द्वपछि पहिलो पटक यस्तो प्रस्ताव कङ्ग्रेसका दुवै सदनबाट पारित भएको हो।
सिनेटमा केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्रेटहरूसँग मिलेर मतदान गरेपछि राष्ट्रपति ट्रम्पले उनीहरूको आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले ती चार रिपब्लिकन सिनेटरलाई ‘हारेका व्यक्ति’ भन्दै उनीहरूले आफ्नो काम कठिन बनाएको टिप्पणी गरेका थिए। चुनौतीका बाबजुद आफ्नो योजना अघि बढाउने उनको भनाइ छ। एजेन्सी