बर्डफ्लूको हटस्पट बन्दै काठमाडौँ उपत्यका, ६० करोड बढीको क्षति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
284
Shares
काठमाडौँ। नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्डफ्लू संक्रमण अहिले विशेषगरी काठमाडौँ उपत्यकामा केन्द्रित बनेको छ। पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि भए पनि पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएको छ।
उनका अनुसार देशभरका प्रयोगशालामार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौँ उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण पुष्टि भएको छैन। अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनले बताए।
डा. दाहालका अनुसार हालसम्म साना-ठूला गरी ८० भन्दा बढी कुखुरा फार्ममा बर्डफ्लू देखिएको छ। बिहीबारमात्रै थप पाँच स्थानका नमुनामा संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको र ती स्थानमा तत्काल प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाइएको उनले बताए।
संक्रमणको शुरूआत चैत्र अन्तिमतिर कागमा देखिएको थियो। त्यसपछि जेठ दोस्रो सातादेखि काठमाडौँको चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वरलगायत क्षेत्रमा फैलिन थालेको डा. दाहालले बताए।
‘संक्रमित कागबाट नै रोग सरेको देखिन्छ। कागमा परीक्षण गरेर बर्डफ्लू पुष्टि भइसकेको छ,’ उनले भने। उनका अनुसार गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रमा पनि संक्रमण फैलिएको छ। हाल सदर चिडियाखानामा समेत संक्रमित काग भेटिएपछि वन्यजन्तु तथा जंगली चराहरूमा समेत संक्रमण फैलिएको संकेत देखिएको छ।
डा. दाहालले बर्डफ्लूलाई अत्यन्त संक्रामक भाइरस भएको उल्लेख गर्दै यसले ठूलो संख्यामा कुखुरा मार्ने र मानिसमा समेत सर्न सक्ने सम्भावना रहने बताए।
‘यो उपचार र प्रभावकारी खोप नभएको रोग हो। त्यसैले जहाँ संक्रमण देखिन्छ, त्यहाँका पन्छी र संक्रमणका सबै स्रोत नष्ट गर्ने “स्टाम्पिङ आउट” विधि अपनाइन्छ,’ उनले भने।
नेपालमा हालसम्म मानवमा संक्रमणको एउटा मात्रै पुरानो घटना देखिएको उल्लेख गर्दै उनले अहिले मानव संक्रमण पुष्टि नभएको जानकारी दिए। चिडियाखाना तथा अन्य जनावरमा एच-नाइन (एच-९) प्रकारको अर्को एभियन इन्फ्लूएन्जा देखिएपछि भाइरसको स्वरूप परिवर्तन भएको हो कि भन्ने विषयमा पनि अध्ययन शुरू गरिएको छ।
डा. दाहालका अनुसार बर्डफ्लू समन्वय समिति, जनस्वास्थ्य क्षेत्र, वातावरणविद् तथा सरोकारवालासँग छलफल गरी भाइरसको जीनोमिक सिक्वेन्सिङ गर्ने तयारी भइरहेको छ।
छ लाखभन्दा बढी कुखुरा नष्ट
संक्रमण नियन्त्रणका लागि हालसम्म छ लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ। त्यस्तै ५५ लाखभन्दा बढी अण्डा र करिब दुई लाख किलो दाना पनि नष्ट गरिएको विभागले जनाएको छ।
डा. दाहालका अनुसार यसबाट हालसम्म ६० करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष क्षति भइसकेको छ। तर उत्पादन बन्द हुनु, फार्म खाली राख्नुपर्ने अवस्था र पुनः उत्पादन शुरू गर्न लाग्ने समयका कारण अप्रत्यक्ष क्षति भने अर्बौं रुपैयाँ पुगेको छ।
‘कुखुरा नष्ट भएपछि कम्तीमा ४२ दिन अर्थात् झन्डै डेढ महिनासम्म नयाँ चल्ला राख्न पाइँदैन। त्यसैले किसानले लामो समय उत्पादन गुमाउनुपरेको छ,’ उनले बताए।
क्षतिपूर्तिको व्यवस्था
बर्डफ्लू रोग नियन्त्रण नियमावली-२०७८ अनुसार संक्रमित फार्मका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डा. दाहालले जानकारी दिए।
उनका अनुसार जिल्लास्तरमा दररेट निर्धारण समितिले लागत मूल्य निर्धारण गर्ने र नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा किसानकै बैंक खातामा रकम पठाइनेछ। हाल पहिलो चरणमा प्रभावित किसानहरूको विवरण तथा आवश्यक कागजात संकलनको काम भइरहेको छ।
डा. दाहालले बर्डफ्लूबाहेक रानीखेत, गम्बोरो, इ-कोलाईलगायत रोगविरुद्ध उपचार र खोप उपलब्ध रहेकाले किसानले नियमित जैविक सुरक्षा अपनाउनुपर्ने बताए। उनले कुखुरा व्यवसायीलाई पशुपन्छी बीमा गर्न पनि आग्रह गरे।
‘बीमा प्रिमियमको ८० प्रतिशतसम्म सरकारले अनुदान दिन्छ। किसानले २० प्रतिशतमात्रै तिरेर आफ्नो व्यवसाय सुरक्षित बनाउन सक्छन्,’ उनले भने।
संक्रमित पक्षी नष्ट गर्नु नै प्रभावकारी उपाय
डा. दाहालले बर्डफ्लूको उपचार तथा प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमित पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्नु नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताए।
उनले कुनै फार्ममा संक्रमण देखिएलगत्तै आकस्मिक रोग अनुसन्धान टोली परिचालन गरी जोखिम क्षेत्र पहिचान गर्ने र आवश्यकताअनुसार संक्रमित पक्षी तथा उत्पादन सामग्री नष्ट गर्ने गरिएको जानकारी दिए।
उनका अनुसार बर्डफ्लू मानिसमा समेत सर्न सक्ने सम्भावना भएकाले संक्रमण फैलिन नदिन तत्काल नियन्त्रणका उपाय अपनाइन्छ।
हालसम्म नेपालमा अन्य जनावरमा संक्रमण व्यापक रूपमा नदेखिएको भए पनि निगरानीलाई निरन्तरता दिइएको उनले बताए।
महानिर्देशक दाहालले किसानलाई संक्रमण देखिए तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गरेको बताए।
बजारमा उपलब्ध मासु तथा अण्डा सुरक्षित रहेको उल्लेख गर्दै उनले सबै प्रकारका मासु राम्ररी पकाएर मात्र उपभोग गर्न उपभोक्तालाई आग्रह गरे।
उनले कुखुरा पालनमा जैविक सुरक्षा मापदण्डको पालना, नियमित सरसफाइ तथा बीमाको प्रयोगले किसानलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने बताए।