एघार जिल्लामा फैलियो बर्डफ्लू, साढे पाँच लाख कुखुरा नष्ट
नौ लाख ८९ हजार अण्डा र एक लाख ९५ हजार किलोग्राम दाना नष्ट
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
197
Shares
काठमाडौँ । नेपालमा बर्डफ्लू (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट शुरू भएको संक्रमण हाल झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
विभागका अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म पाँच लाख ६९ हजार ८५८ ओटा कुखुरा नष्ट गरिएको छ । साथै नौ लाख ८९ हजार ३१३ ओटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ ।
पशु सेवा विभागले कोशी प्रदेशमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याइएको दाबी गरेको छ।
विभागका अनुसार संक्रमित क्षेत्रहरूमा कुखुरा, अण्डा र दानाको ओसारपसारमा कडाइ गरिएको छ भने उच्च जोखिमयुक्त फार्महरूमा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिएको छ ।
विभागका अनुसार प्रयोगशालामा परीक्षण गरिएका नमुनामा बर्डफ्लूका एच९एन२, एच५एन१ तथा न्यूक्यासल रोगका भाइरससमेत फेला परेका छन् ।
संक्रमित तथा शंकास्पद कुखुरा व्यवस्थापनमा विशेष सावधानी अपनाउन र मृत कुखुरा खुला स्थानमा नफाल्न किसानलाई आग्रह गरिएको छ ।
पशु सेवा विभागले कुखुरा पालन व्यवसायीलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न तथा कुनै कुखुरा अस्वाभाविक रूपमा बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गराउन अनुरोध गरेको छ ।
विभागका महानिर्देशक डा. रमेश दाहालले सबै सरोकारवाला निकाय तथा किसानलाई संक्रमण नियन्त्रण अभियानमा सहयोग गर्न अपील गरेका छन् ।