विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन आवश्यक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
240
Shares
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विकास, व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै सन्तुलनमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार काठमाडौँमा आयोजित ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य दायित्व सरकारको भएको स्पष्ट पारे ।
उनका अनुसार व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन हुन नदिन सरकारले प्रभावकारी निगरानी र व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
साथै, व्यवसायीहरूले पनि आफ्नो व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
अध्यक्ष मगरले मानव अधिकार उल्लंघनका घटनामा आयोगले आवश्यक छानबिन गर्दै दोषीलाई कारबाहीका लागि सरकारलाई निर्देशन दिने काम निरन्तर गरिरहेको जानकारी दिए ।
उनले भने, ‘मानव अधिकारको संरक्षण, सम्वर्द्धन गर्ने काम सरकारको हो । सरकारले यसको व्यवस्था गर्नुपर्छ । व्यवसाय सञ्चालन गर्दा कुनै किसिमबाट मानव अधिकार हनन भएको छ भने त्यसको सरकारले निगरानी राख्नुपर्छ । व्यवसाय गर्ने व्यवसायीहरूले पनि आफ्नो व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको हनन हुन दिनु हुँदैन । यसको सम्मान गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवसायीहरू अघि बढ्नुपर्छ । त्यसो नभए मानव अधिकार हनन भएको विषय उठ्छ, त्यसमा आयोगले हेर्नुपर्छ ।’
अध्यक्ष मगरले विकास र पूर्वाधार निर्माणका क्रममा आदिवासी जनजाति समुदायका अधिकारको सम्मान हुनुपर्नेमा पनि जोड दिए ।
कतिपय विकास आयोजनाका कारण स्थानीयको भोगाधिकार, परम्परागत अधिकार तथा संस्कार प्रभावित हुने गुनासो आयोगमा आउने गरेको उनले बताए ।
उनले उपभोक्ताको मानव अधिकार पनि कुनै पनि अवस्थामा हनन हुन नदिन सरकार सचेत हुनुपर्ने बताए ।
विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्न सके मात्रै दिगो र न्यायपूर्ण विकास सम्भव हुने अध्यक्ष मगरको भनाइ छ।