दुई सय अन्तर्राष्ट्रिय खेलसहित मोड्रिचको कीर्तिमान
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
372
Shares
काठमाडौँ । क्रोएसियाका दिग्गज कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने ऐतिहासिक कीर्तिमान बनाएका छन्। उनी यो अभूतपूर्व उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासकै चौथो खेलाडी बनेका हुन्।
जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका हुन्। सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका ३९ वर्षीय मिडफिल्डर मोड्रिचले करिब दुई दशक लामो अन्तर्राष्ट्रिय करियरमा २९ गोल गरिसकेका छन् र उनी अझै पनि टोलीको मुख्य खम्बाका रूपमा मैदानमा सक्रिय छन्।
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने कीर्तिमानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो २३० खेलसहित शीर्ष स्थानमा छन्। त्यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुवेतका बादेर अल मतावा (२०१ खेल) र अर्जेन्टिनाका लियोनल मेस्सी (२०१ खेल) रहेका छन्। पानामाविरुद्धको खेलसँगै मोड्रिच २०० खेलको कोसेढुङ्गा पार गर्दै यो विशेष सूचीको चौथो स्थानमा उक्लिएका हुन्।
विश्वकपको यसै खेलमा क्रोएसियाले पानामामाथि महत्त्वपूर्ण जित निकाल्दै नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा वैकल्पिक खेलाडी एन्ते बुदिमिरले गरेको एकमात्र गोल क्रोएसियाका लागि निर्णायक बन्यो।
आफ्नो पहिलो खेलमा पराजय भोगेको क्रोएसियाका लागि यो खेल जित्नैपर्ने दबाब थियो। पानामाले रक्षात्मक रूपमा अनुशासित प्रदर्शन गर्दै क्रोएसियालाई कडा टक्कर दिए पनि अग्रपङ्क्तिका खेलाडीहरूले प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा टोली पराजित हुन पुग्यो।
यस जितसँगै क्रोएसियाले प्रतियोगितामा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ भने लगातार दोस्रो हारसँगै पानामाको समूह चरणबाट अगाडि बढ्ने सम्भावना निकै कमजोर बनेको छ।