अमेरिकी सिनेटले गर्यो ट्रम्पको सैन्य अधिकार कटौती, अनुमतिबिना इरानविरुद्ध सैन्य परिचालन गर्न रोक
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
708
Shares
काठमाडौँ । अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कङ्ग्रेसको पूर्वस्वीकृतिबिना इरानविरुद्ध थप सैन्य परिचालन गर्न रोक लगाउनेसम्बन्धी एक महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ। मङ्गलवार भएको मतदानले युद्ध घोषणा गर्ने र सैन्य द्वन्द्व सुरु गर्ने राष्ट्रपतिको विशेषाधिकारलाई सीमित तुल्याउँदै कङ्ग्रेसको संवैधानिक अधिकारलाई पुनः स्थापित गरेको हो।
इरान र अमेरिकाबीच तनाव सुरु भएयता कङ्ग्रेसका दुवै सदनबाट राष्ट्रपतिको सैन्य शक्ति नियन्त्रण गर्ने गरी यस्तो प्रस्ताव पारित भएको यो पहिलो पटक हो। यस कदमलाई ट्रम्प प्रशासनको युद्ध व्यवस्थापन पद्धतिप्रति अमेरिकी संसद्मा बढ्दो राजनीतिक विरोधको बलियो सङ्केतका रूपमा हेरिएको छ।
इरान सैन्य शक्ति नियन्त्रणसम्बन्धी उक्त प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो। मतदानका क्रममा दलीय ह्विप उल्लङ्घन गर्दै चार जना रिपब्लिकन सिनेटरहरूले विपक्षी डेमोक्र्याट सदस्यहरूलाई साथ दिएका थिए भने एक जना डेमोक्र्याट सदस्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।
कङ्ग्रेसको आधिकारिक वेबसाइटमा प्रकाशित विधेयकको सारअनुसार यस प्रस्तावले युद्धको औपचारिक घोषणा वा सैन्य बल प्रयोगका लागि विशेष कानुनी अनुमति नभएसम्म राष्ट्रपतिलाई अमेरिकी सशस्त्र सेनालाई इरानविरुद्धका शत्रुतापूर्ण गतिविधिहरूबाट फिर्ता बोलाउन निर्देशन दिन्छ।
प्रस्तावका समर्थकहरूले इरानविरुद्धको वर्तमान सङ्घर्ष अनधिकृत र रणनीतिक रूपमा गैरजिम्मेवारपूर्ण ‘इच्छाधीन युद्ध’ (वार अफ च्वाइस) भएको तर्क गर्दै आएका छन्। यस प्रस्तावले अमेरिकी संविधानको 'धारा १' लाई पुनर्जीवित गरेको उनीहरूको भनाइ छ, जसले युद्धको घोषणा गर्ने अन्तिम अधिकार राष्ट्रपतिलाई नभई कङ्ग्रेसलाई सुम्पेको छ।