रास्वपा महाधिवेशनमा मतदानमा ढिलाइ, केन्द्रीय सदस्यमा चार सय भन्दा बढीको उम्मेद्वारी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
223
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।
उनले भने, “यकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ बजे नामावली प्रकाशन गरिनेछ ।”
यसअघि आज बिहान ८ बजेदेखि मतदान शुरू हुने जनाइएको थियो । ९ बजेमात्र नामावली प्रकाशन गर्ने भनिएसँगै मतदान ढिलै शुरू हुने देखिएको छ ।
निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।
रास्वपाले असार ७ देखि ९ गतेसम्मको महाधिवेशनको समय तोकेको भए पनि महाधिवेशन ११ गतेसम्म लम्बिन सक्ने देखिएको छ ।
यता रवि लामिछाने भने सभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन् । प्रधानमन्त्री वालेन्द्र साह बालेन उनका प्रस्तावक थिए । रविको मात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।