arrow

समितिमा शिक्षा सचिव

मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी, भिसा प्रक्रिया पनि सहज बनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
chunamani-poudel.jpg

काठमाडौँ । सरकारले नेपालमा मेडिकल शिक्षा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूका लागि कोटा बढाउने तयारी थालेको छ। नेपालको मेडिकल शिक्षामा विदेशी विद्यार्थीहरूको आकर्षण उच्च रहेकाले उनीहरूलाई प्रोत्साहन गर्न सरकारले यस्तो नीतिगत निर्णय लिन लागेको हो।

सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको मङ्गलबार बसेको बैठकमा बोल्दै शिक्षा सचिव चुडामणि पौडेलले यस विषयमा औपचारिक जानकारी दिएका हुन्। सचिव पौडेलका अनुसार हाल नेपालका विभिन्न विश्वविद्यालयहरूमा करिब १ हजार ४ सय विभिन्न मुलुकका विदेशी विद्यार्थीहरू अध्ययनरत छन्, जसमा सबैभन्दा ठुलो हिस्सा मेडिकल विधाकै रहेको छ।

नेपाल आउन चाहने विदेशी विद्यार्थीहरूले भोग्दै आएको कानुनी र प्रशासनिक झन्झटलाई हल गर्न सरकारले भिसा प्रक्रियामा समेत सुधार गर्ने भएको छ।

“विदेशी विद्यार्थीहरूलाई 'स्टुडेन्ट भिसा' (विद्यार्थी भिसा) मा कसरी सहजीकरण गर्न सकिन्छ भनेर हामीले गृह मन्त्रालयसँग पनि आवश्यक छलफल अगाडि बढाएका छौँ,” सचिव पौडेलले बैठकमा भने, “विशेष गरी मेडिकल शिक्षामा विदेशी विद्यार्थीहरूको सबभन्दा बढी आकर्षण देखिएको हुँदा यसमा कोटा बढाउन सकिन्छ भन्ने हिसाबले नीतिगत निर्णय गर्ने तयारीका साथ सरकार अगाडि बढिरहेको छ।”

नेपालका चिकित्सा शिक्षा अध्यापन हुने कलेजहरूको गुणस्तर दक्षिण एसियाली क्षेत्रमा राम्रो मानिने भएकाले विशेष गरी छिमेकी मुलुक भारत, श्रीलङ्का, माल्दिभ्स लगायतका देशबाट ठुलो सङ्ख्यामा विद्यार्थीहरू यहाँ आउने गरेका छन्। सरकारले कोटा थप गर्ने र भिसा प्रक्रियालाई चुस्त बनाउने निर्णय गरेमा नेपाललाई 'मेडिकल एजुकेसन हब' का रूपमा विकास गर्न र वैदेशिक मुद्रा आर्जनमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ