इजिप्टको सानदार पुनरागमन, न्युजिल्याण्डमाथि ३–१ को रोमाञ्चक जित
समूह ‘जी’ को शीर्ष स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
289
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी' को दोस्रो खेलमा अफ्रिकी पावरहाउस इजिप्टले ऐतिहासिक र सानदार जित दर्ता गरेको छ। सुरुवाती एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टले न्युजिल्यान्डमाथि ३–१ को रोमाञ्चक पुनरागमन जित निकालेको हो। विश्वकपको इतिहासमा इजिप्टले कुनै पनि एउटै खेलमा तीन गोल प्रहार गरेको यो पहिलो पटक हो।
खेलमा सुरुवाती अग्रता भने न्युजिल्यान्डले लिएको थियो। खेलको १४औँ मिनेटमै फिन सुरमानले उत्कृष्ट गोल गर्दै न्युजिल्यान्डलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा रक्षात्मक खेल खेलेको इजिप्ट दोस्रो हाफमा भने पूर्ण रूपमा आक्रामक रूपमा प्रस्तुत भयो।
इजिप्टका लागि ५९औँ मिनेटमा मुस्ताफा जिकोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको ८ मिनेटपछि अर्थात् ६७औँ मिनेटमा टोलीका स्टार स्ट्राइकर मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै इजिप्टलाई २–१ को महत्त्वपूर्ण अग्रता दिलाए। खेलको ८१औँ मिनेटमा ट्रिजेगे (ट्रेजेगेट) ले अर्को गोल थपेपछि इजिप्टले ३–१ को जित सुनिश्चित गर्यो।
यस जितसँगै समूह 'जी' मा इजिप्टले महत्त्वपूर्ण ३ अंक जोड्दै तालिकामा कुल ४ अंक बनाएको छ। खेलमा जित निकाल्दै इजिप्ट आफ्नो समूहको शीर्ष स्थानमा उक्लिन सफल भएको हो यसअघि भएको आफ्नो पहिलो खेलमा इजिप्टले बलियो बेल्जियमसँग १–१ गोलको बराबरी खेल्दै १ अंक बाँडेको थियो। लगातार दोस्रो हार ब्यहोरेको न्युजिल्यान्डको भने अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ।