जर्मनी विश्वकपको नकआउट चरणमा, आइभरी कोष्टमाथि संघर्षपूर्ण जित
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
944
Shares
काठमाडौँ । जर्मनी लगातार दुई जितसहित विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै जर्मनी अन्तिम ३२ मा पुगेको हो ।
जर्मनीलाई जिताउन दुवै गोल डेनिज उन्दाभले गरे । खेलमा आइभरी कोष्टले अग्रता लिएको थियो । फ्रान्क केस्सीले गोल गर्दै ३० मिनेटमा आइभरी कोष्टलाई अग्रता दिलाएका हुन् । जर्मनलाई बराबरी गर्न ६८ मिनेटको खेल कुर्नुपर्यो ।
नदिम अमिनको पासले उन्दाभले बराबरी गोल गरे । इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स मेचाको पासको उन्दाभले दोस्रो गोल गर्दै जर्मनीलाई संघर्षपूर्ण जित दिलाए ।
निकै नै फेयर प्ले खेलमा जर्मनीले ६० प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि गोल गर्न भने निकै नै संघर्ष गर्नु पर्यो ।
गोलका लागि सात प्रहार गरे पनि सफलता भने दुई ओटामात्र हात लागेको हो । यता आइभरी कोष्टको प्रहार पनि फितलो नै रह्यो । मात्र दुई ओटा गोलका लागि प्रहार भएकामा एउटामा सफलता लागेको हो ।
यो खेलमा कसैले पनि पहेँलो कार्ड पाएनन् ।
यो जितसँगै जर्मनी अन्तिम ३२ मा पुग्ने तेस्रो राष्ट्र बनेको छ । यसअघि सहआयोजक राष्ट्रहरू मेक्सिको र अमेरिका अन्तिम ३२ मा पुगिसकेका छन् ।
समूह ई को खेलमा २ खेलबाट ६ अंकसहित जर्मनी शीर्ष स्थानमा रहँदा आइभरी कोष्ट ३ अंकसहित दोस्रो स्थानमा छ । आइभरी कोष्टले यसअघि इक्वेडरलाई हराएको थियो ।
अहिले इक्वेडर र डेब्यु टिम कुराकाओ भिड्दै छन् । दुवैले अंकको खाता खोलेका छैनन् ।