arrow

अमेरिकाले देखायो रवाफ, एक खेल अघि नै विश्वकपको अन्तिम ३२ मा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
usa-football-team-2026 copy.jpg

काठमाडौँ । सहआयोजक अमेरिकाले फिफा विश्वकप-२०२६ मा लगातार दोस्रो जित निकाल्दै एक खेलअघि नै अन्तिम ३२ मा स्थान पक्का गरेको छ। सियाटलमा भएको समूह ‘डी’ को खेलमा अमेरिकाले अस्ट्रेलियालाई २-० ले पराजित गर्दै नकआउट यात्रालाई सुरक्षित बनाएको हो।

स्टार खेलाडी क्रिस्टियन पुलिसिक पिँडुलाको चोटका कारण मैदानबाहिर रहे पनि अमेरिकाको प्रदर्शनमा त्यसको कुनै असर देखिएन।

प्रशिक्षक माउरिसियो पोचेटिनोको टोलीले खेलको शुरूआतदेखि नै उच्च दबाब सिर्जना गर्दै अस्ट्रेलियालाई आफ्नो लय समात्नै दिएन।

अमेरिकाले ११औँ मिनेटमा अग्रता लियो। फोलारिन बालोगुनको तीव्र आक्रमणबाट आएको बल अस्ट्रेलियाका क्यामरुन बर्गेसले आफ्नै पोस्टमा छिराएपछि घरेलु टोलीले उपहारस्वरूप गोल पायो। यो लगातार दोस्रो खेल हो, जहाँ अमेरिकाले विपक्षीको आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको छ।

पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा अमेरिकाले अर्को गोल थप्यो। सर्जिनो डेस्टको प्रहार विचलित हुँदै गोलअगाडि पुगेपछि एलेक्स फ्रिम्यानले गोलरक्षकभन्दा अघि पुगेर हेडमार्फत जाली चुमाए। फ्रिम्यानको यो विश्वकपको पहिलो गोल थियो।

दोस्रो हाफमा अस्ट्रेलियाले पुनरागमनको प्रयास गरे पनि अमेरिकी रक्षापंक्तिले कुनै अवसर दिएन। यससँगै अमेरिकाले पछिल्ला १० खेलपछि पहिलो पटक गोलरहित जित दर्ता गर्‍यो।

यो जितसँगै अमेरिकाले विश्वकप इतिहासमा १९३० को पहिलो संस्करणपछि पहिलो पटक लगातार दुई खेल जित्ने उपलब्धिसमेत हासिल गरेको छ। साथै, लगातार दुई विश्वकप खेलमा विपक्षीको आत्मघाती गोलबाट लाभ उठाउने पहिलो टोली बनेको छ।

खेलपछि अमेरिकी प्रशिक्षक पोचेटिनोले टोलीको प्रदर्शनबाट सन्तुष्टि व्यक्त गर्दै प्रतियोगिता जित्न सबै खेलाडीको योगदान आवश्यक पर्ने बताए। पुलिसिकको अनुपस्थितिमा पनि टोलीले उत्कृष्ट खेल पस्किएको भन्दै उनले समर्थकलाई खुसी बनाएको प्रतिक्रिया दिए।

अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले भने आफ्नो टोली सुस्त देखिएको स्वीकार गरे। अमेरिकाले प्रत्येक द्वन्द्वमा आफूहरूलाई पछि पारेको र सहज गोल उपहार दिँदा खेल गाह्रो बनेको उनको भनाइ थियो।

दुई खेलबाट लगातार जित निकालेको अमेरिका अब समूह चरणको अन्तिम खेलमा टर्किएसँग भिड्नेछ। घरेलु समर्थकको उत्साह र आक्रामक खेलशैलीका कारण अमेरिका यस विश्वकपको सम्भावित दाबेदारका रूपमा उदाउँदै गएको देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ