arrow

विश्वकपमा केप भर्डेको अर्को तहल्का: पूर्व विजेता उरुग्वेलाई बराबरीमा रोक्दै खोस्यो अंक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
cabo-verde.jpg

काठमाडौँ ।फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को रोमाञ्चक भिडन्तमा विश्वकप इतिहासमै पहिलो पटक डेब्यु गरिरहेको टापु राष्ट्र केप भर्डेले बलियो प्रतिद्वन्द्वी तथा दुई पटकको विश्व विजेता उरुग्वेसँग २–२ गोलको सनसनीपूर्ण बराबरी खेलेको छ। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको यस खेलमा केप भर्डेले बलियो रक्षापंक्ति र उत्कृष्ट काउन्टर अट्याकको नमूना प्रस्तुत गर्दै महत्त्वपूर्ण १ अंक खोस्न सफल भयो। यसअघि आफ्नो पहिलो खेलमा पनि केप भर्डेले युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेर सनसनी मच्चाएको थियो।

खेलको सुरुवातदेखि नै निडर देखिएको केप भर्डेले २१औं मिनेटमा अग्रता लिएको थियो। केभिन पिनाले करिब ३४ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक उरुग्वेको फितलो डिफेन्सिभ वाललाई छिचोल्दै सिधै गोलमा परिणत भएको थियो। यो गोल केप भर्डेको विश्वकप इतिहासकै पहिलो ऐतिहासिक गोल समेत बन्यो।

एक गोलले पछि परेको उरुग्वेले पहिलो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्‍यो। ४४औं मिनेटमा म्याक्सी अराजोले हेडमार्फत गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याए। त्यसको लगत्तै पहिलो हाफको इन्जुरी समय (४५+६औं मिनेट) मा अगस्टिन कानोबियोले डिफेन्सिभ गल्तीको फाइदा उठाउँदै गोल गरेपछि उरुग्वेले २–१ को अग्रता बनायो।

तर, दोस्रो हाफमा उरुग्वेको डिफेन्समा देखिएको तालमेलको अभावलाई केप भर्डेले तुरुन्तै क्यास गर्‍यो। ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर माथियास ओलिभेराको फितलो ब्याक–पासलाई सदुपयोग गर्दै केप भर्डेका सब्सटिच्युट फरवार्ड हेलियो भारेलाले उरुग्वेका अनुभवी गोलकिपर फर्नान्डो मुस्लेरालाई बिट गर्दै बललाई जाली चुमाए र खेल २–२ को स्थितिमा ल्याए।

त्यसपछिको समयमा उरुग्वेले डार्विन नुनेज जस्ता स्टार खेलाडीलाई मैदान प्रवेश गराउँदै गोलका लागि निकै दबाब सिर्जना गरे पनि केप भर्डेका गोलकिपर वोजिन्हा र डिफेन्डरहरूले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमै टुङ्ग्याए। यो नतिजासँगै दुवै खेलमा बराबरी खेलेको उरुग्वेको नकआउट यात्रा संकटमा परेको छ र उसले समूह चरण पार गर्न आगामी खेलमा स्पेनलाई हराउनै पर्ने दबाब सिर्जना भएको छ। अर्कोतर्फ, २ अंक नै जोडेको केप भर्डेले अन्तिम खेलमा साउदी अरेबियालाई पराजित गरेमा ऐतिहासिक अन्तिम ३२ मा स्थान पक्का गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ