कुरासाओको ऐतिहासिक प्रदर्शन, इक्वेडर बराबरीमा रोकिँदा समीकरण थप रोचक
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
483
Shares
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ई को आइतबार भएको खेलमा इक्वेडर र कुरासाओले रोमाञ्चक गोलरहित बराबरी खेलेका छन्।
कान्सास सिटी स्टेडियममा भएको खेलमा दुवै टोलीले निरन्तर आक्रमण बुने पनि कुनै पनि टोलीले निर्णायक गोल गर्न सकेन।
खेलभर इक्वेडरले बल नियन्त्रण र आक्रमणमा दबाब बनाए पनि कुरासाओको संगठित रक्षापंक्ति तोड्न सकेन।
कुरासाओका गोलकिपर एलोई रुमले उत्कृष्ट प्रदर्शन गर्दै १५ वटा महत्वपूर्ण बचाउ गरेपछि इक्वेडर निराश बनेको थियो।
यस नतिजासँगै दुवै टोली समूह ई मा १-१ अंकमा रहँदै अन्तिम दुई स्थानमा रहेका छन्। नकआउट चरण प्रवेशको सम्भावना अझै कायम रहे पनि उनीहरूको यात्रा कठिन बनेको छ।
यस समूहबाट जर्मनी दुई खेलबाट ६ अंकसहित नकआउट चरणमा प्रवेश गरिसकेको छ भने आइभरी कोष्ट दुई खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ।
विश्वकपमा डेब्यू गरिरहेको कुरासाओका लागि भने यो नतिजा ऐतिहासिक बनेको छ, जहाँ उनीहरूले पहिलो अंक जोड्दै ठूलो उपलब्धि हासिल गरेका छन्।