स्थापनाको चार वर्षपछि महाधिवेशनमा रास्वपा, तयारी अन्तिम चरणमा [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
193
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी स्थापनाको चार वर्षपछि पहिलो पटक महाधिवेशन हुँदैछ । तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ ।
भरतपुर महानगरपालिका १० स्थित गेष्ट हाउस चौरमा असार ७ गते हुने खुला सत्रका लागि धमाधम काम भइरहेको छ । रास्वपा चितवनका जिल्ला सभापति मिनीमाधव खनालका अनुसार अहिलेको वर्षातको मौसमलाई विचार गरेर घाम र पानी दुवैबाट बचाउन मैदानमा विशेष प्रविधिको प्रयोग गरिएको छ ।
'यो बर्खाको समय भएकाले घाम–पानीबाट सहभागीहरूलाई जोगाउन हामीले जर्मन प्रविधिको २५ फिट अग्लो ह्याङ्गर (शेडिङ) हाल्ने काम गरिरहेका छौँ', सभापति खनालले भने, 'मैदानको शेडिङको काम लगभग सकिन लागेको छ र अब स्टेज निर्माण तथा साउन्ड सिस्टम जडानको काम शुरू हुनेछ । समग्रमा खुला सत्रको तयारी अन्तिम चरणमा पुगेको छ ।'
३५ सय प्रतिनिधि आउने, ४०–५० हजारको सहभागिता रहने अनुमान
ऐतिहासिक महाधिवेशन भएकाले देशैभरिबाट करिब ३,५०० प्रतिनिधिहरू चितवन आउने खनालले जानकारी दिए । त्यस्तै, खुला सत्रका लागि चितवन र वरपरका जिल्लाहरूबाट समेत गरी ४० देखि ५० हजार सर्वसाधारण तथा शुभचिन्तकहरू सहभागी हुने पार्टीको अपेक्षा छ ।
सुरक्षा र आवासको बलियो व्यवस्था
महाधिवेशनको सुरक्षा र व्यवस्थापनका लागि जिल्लाका सुरक्षा निकायहरूसँग पूर्ण समन्वय भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवन र सीडीओ कार्यालयसँग मिलेर एक हप्ता अघिदेखि नै सुरक्षा योजना बनाई बैठकहरू भइरहेका उनले जानकारी दिए ।
आउने अतिथि तथा प्रतिनिधिहरूको आवासका लागि चितवनका होटल व्यवसायीहरूसँग समन्वय गरिएको छ।
'हामीले चितवनका १५० भन्दा बढी होटलहरूको नाम आन्तरिक रूपमा सार्वजनिक गरिसकेका छौँ र साथीहरूले होटल बुकिङ गरिरहनुभएको छ', खनालले भने , 'होटल व्यवसायी संघसँगको छलफलपछि होटलका कोठाहरूमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सौराहा र रत्ननगरका होटलहरूले पनि राम्रो प्याकेज दिएका छन् ।'
बन्द सत्र उद्योग संघको हलमा, क्याटरिङको व्यवस्था
खुला सत्र सकिएपछि हुने बन्द सत्रको लागि खुला सत्रस्थलबाट २०० मिटर पूर्वमा रहेको चितवन उद्योग संघको हल तय गरिएको छ। त्यहाँ अहिले सरसफाइ, इन्टरनेट जडान लगायतका प्राविधिक कामहरू भइरहेका छन् ।
बन्द सत्रका सहभागीहरूका लागि उद्योग संघकै परिसरमा क्याटरिङ मार्फत खानाको व्यवस्था मिलाइएको छ ।
चितवनमा हुन लागेको यो ऐतिहासिक महाधिवेशनले यहाँको होटल व्यवसाय, पर्यटन र समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग पुग्ने विश्वास जिल्ला सभापति खनालले व्यक्त गरे।