arrow

रास्वपाको प्रथम महाधिवेशनका लागि चितवनमा यस्तो छ तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीका लागि चितवनमा सात हजारभन्दा बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको विशाल सभाहल (डोम) निर्माण कार्य शुरू भएको छ। यही असार ७ देखि ९ गतेसम्म पूर्वी–चितवनको रत्ननगरमा पार्टीको तीनदिने महाधिवेशन हुँदैछ।

महाधिवेशनका लागि रत्ननगर नगरपालिका–१ टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै जोडिएको खाली जमिनमा बाँसको प्रयोग गरी 'डोम' बनाउने काम धमाधम अघि बढिरहेको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार होटलको टिनको टहरालाई समेत समेटेर कुल ३२ हजार ४८० स्क्वायर फिट जमिनमा महाधिवेशनस्थल तयार पारिँदैछ। उक्त डोम संरचनाको बिचको भाग २९ फिट र छेउको भाग १६ फिट अग्लो हुनेछ। वर्षातको समय भएकाले माथिबाट पानी नचुहिने उच्चस्तरको त्रिपाल र टेण्टको ओत लाग्ने व्यवस्था मिलाइएको छ।

चितवनको गर्मीलाई मध्यनजर गर्दै डोमभित्र ७० वटा ठुला पङ्खा र २० वटा कुलर जडान गरिनेछ। डोमको बाहिरी भागमा पनि टेण्ट राखेर थप बस्ने ठाउँ बनाइँदैछ भने आवश्यकता अनुसार होटल स्टारको मुख्य हललाई समेत प्रयोग गरिने नेता गौतमले बताए।

महाधिवेशनमा देशभरबाट आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलहरूमा आवासको प्रबन्ध मिलाइएको छ। होटल व्यवसायीहरूसँगको समन्वयमा सहुलियत दरमा कोठाहरू बुकिङ भइरहेका छन्, जसको खर्च सहभागी स्वयंले बेहोर्नेछन्।

उद्घाटनको दिन भीडभाड व्यवस्थापनका लागि नजिकैको टिकौलीचौरमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ। पार्किङस्थलबाट महाधिवेशनस्थलसम्म आउन-जानका लागि 'शटल' गाडीको व्यवस्था मिलाइएको छ। महाधिवेशन अवधिभर बिहानदेखि साँझसम्मको खानाको व्यवस्था कार्यक्रमस्थलमै गरिएको छ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार स्थानीय जिल्ला कमिटी, चितवनका केन्द्रीय सदस्य र सांसदहरूको समन्वयमा १८ वटा उपसमितिहरू गठन गरी तयारीलाई तीव्रता दिइएको छ। असार २ गते मङ्गलवार (भोलि) देखि चितवनमै राष्ट्रिय महाधिवेशनको सचिवालय सञ्चालनमा आउनेछ भने असार ४ गतेदेखि पार्टीका केन्द्रीय पदाधिकारी तथा नेताहरू महाधिवेशनस्थलमै खटिनेछन्।

महाधिवेशनको उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका साथै छिमेकी देशका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको प्रवक्ता झाले जानकारी दिए। महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधिहरू सहभागी हुनेछन्।

असार ७ गते उद्घाटन भएपछि दोस्रो दिन असार ८ गते पार्टीको विधानमाथि व्यापक छलफल हुनेछ। त्यसपछि नयाँ नेतृत्व चयन गर्दै असार ९ गते रास्वपाको तीनदिने प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ