कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन: अर्थमन्त्री वाग्ले
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
184
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेस र सुदूरपश्चिम लगायतका क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्। किसानलाई मल, बीउ, सिँचाइ र मूल्य शृङ्खलामा प्रदान गरिएको अनुदानले लक्षित वर्गको उत्थानमा ठोस सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे।
बजेटमार्फत दलित बालबालिकाको पोषण भत्ता दोब्बर पारिएको जानकारी दिँदै अर्थमन्त्री डा। वाग्लेले सामाजिक सुरक्षाका विद्यमान कुनै पनि कार्यक्रम कटौती नगरिएको स्पष्ट पारे। गरिबीका नाममा ल्याइएका अघिल्ला सबै कार्यक्रमहरू यथावत् रहेको उल्लेख गर्दै उनले गरिबमुखी कार्यक्रम काटियो कि भन्ने आशङ्का नगर्न आग्रह गरे।
केवल नगद वितरण गरेर मात्रै दिगो रूपमा गरिबी घट्न नसक्ने यथार्थलाई सरकारले स्वीकार गरेको भन्दै उनले मानिसलाई सधैँ सहायता लिने अवस्थामा राख्नुभन्दा पनि आफ्नै आम्दानी गर्ने अवस्थामा पुर्याउनु बजेटको मुख्य लक्ष्य रहेको स्पष्ट पारे।
अर्थमन्त्री डा। वाग्लेले कृषिको आधुनिकीकरण, सिँचाइ, कृषि बिमा, श्रमिक सुरक्षा, सीप विकास, उद्योग प्रवर्द्धन, डिजिटल अर्थतन्त्र र निजी लगानीमार्फत रोजगारी सिर्जना गर्ने रणनीति सरकारले लिएको जानकारी दिए।
गरिबी घटाउने सबैभन्दा प्रभावकारी उपाय नै स्थायी आम्दानी र रोजगारी भएको भन्दै उनले निजी क्षेत्रको मनोबल नबढाई रोजगारी सिर्जना हुन नसक्ने भएकाले बजेटले त्यसतर्फ विशेष ध्यान दिएको बताए।