arrow

तोकिएको शुल्कभन्दा बढी रकम मागे प्रमाणसहित हटलाइनमा उजुरी गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
birajbhakta-25.jpg

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन्।

मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेयता गुनासोको तत्काल सुनुवाइ र शीघ्र समाधानलाई मन्त्रालयको प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन विभिन्न सुधारका कार्यक्रम अघि बढाएका छन्।

मन्त्रालयका अनुसार विद्युत् सेवासम्बन्धी गुनासो समाधानका लागि सञ्चालनमा रहेको हटलाइन ११५१ लाई थप सक्रिय बनाइएको छ।

मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको चैत १३ गतेयता हटलाइनमार्फत प्राप्त १३ हजार ८८ ओटा गुनासो सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ।

प्राप्त गुनासोमध्ये विद्युत् अवरोध, ट्रान्सफर्मर बिग्रिएको, पोल तथा मिटर अभाव, भूमिगत विद्युत् जडानलगायतका समस्या प्रमुख रहेका छन्। मन्त्रालयले यस्ता समस्याको छिटो समाधान गर्दै सेवाग्राहीमैत्री सेवा प्रवाहमा जोड दिएको जनाएको छ।

संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले शून्य तथा विशेष समयमा उठाउने ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित गुनासोलाई समेत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

सुशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिँदै मन्त्रालयले सुशासन ऐन, २०६४ अनुसार ‘सुशासन एकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ।

उक्त एकाइले मन्त्रालय र मातहतका निकायका कर्मचारीको कार्यसम्पादन, कानूनी समयसीमाको पालना, सेवा प्रवाहको प्रभावकारिता तथा सरकारी स्रोत-साधनको उपयोगको नियमित अनुगमन र मूल्याङ्कन गरिरहेको छ।

मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्रभावकारी बनाउँदै गुनासो व्यवस्थापन, सेवा प्रवाह सुधार र कर्मचारीको उत्तरदायित्व अभिवृद्धिमा विशेष जोड दिएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ