पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण उपलब्धि, फ्लाई दुबईको सिधा उडान
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
385
Shares
पोखरा । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको छ।
आवश्यक सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी उच्च स्तरीय निरीक्षण सम्पन्न भएपछि फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा-दुबई रुटमा दैनिक उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको जानकारी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दिएका छन्।
यो निर्णय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानतर्फको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
विमानस्थल निर्माण सम्पन्न भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा यसको उपयोगिता र आर्थिक औचित्यमाथि निरन्तर प्रश्न उठ्दै आएका थिए।
मेयर आचार्यले फ्लाई दुबईको उडानलाई नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।
उनले नियमित अन्तर्राष्ट्रिय उडानका लागि लामो समयदेखि भइरहेको प्रयास सफलताको चरणमा पुगेको उल्लेख गर्दै सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन्।
पोखरा-दुबई प्रत्यक्ष हवाई सम्पर्कले मध्यपूर्वका साथै युरोप, अफ्रिका र अन्य गन्तव्यसम्म जोडिने सम्भावना बढाउने अपेक्षा गरिएको छ।
विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिक, पर्यटन व्यवसाय र पोखराको सेवा क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने देखिन्छ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अत्यधिक हवाई चाप कम गर्न पनि यसले केही हदसम्म योगदान पुर्याउन सक्छ।
तर यो उपलब्धिसँगै केही चुनौती पनि उत्तिकै महत्वपूर्ण छन्। विगतमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान शुरू भए पनि यात्रु अभाव र व्यावसायिक व्यवहार्यताको समस्याले धेरै सेवा दिगो हुन सकेका छैनन्। पोखराले पनि त्यही चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्छ।
हवाई सेवा दिगो बनाउन नियमित यात्रु, प्रतिस्पर्धी भाडादर, प्रभावकारी पर्यटन प्रवद्र्धन र सरकारी नीतिगत सहयोग अपरिहार्य देखिन्छ। प्रारम्भिक उत्साहलाई व्यावसायिक सफलतामा रूपान्तरण गर्न पर्यटन व्यवसायी, स्थानीय सरकार, निजी क्षेत्र र प्रवासी नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक हुनेछ।
मेयर आचार्यले पनि यही सन्दर्भमा पोख्रेली नागरिक, पर्यटन व्यवसायी तथा स्वदेश-विदेशमा रहेका नेपालीलाई पोखरा-दुबई रुट प्रयोग गरी उडानलाई सफल बनाउन आग्रह गरेका छन्।
उनको भनाइले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुमात्र उपलब्धि नभई त्यसलाई निरन्तरता दिन बजारको साथ र यात्रुको विश्वास उत्तिकै आवश्यक रहेको सन्देश दिन्छ।
फ्लाई दुबईको दैनिक उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नयाँ जीवन दिने सम्भावना अवश्य सिर्जना गरेको छ। तर यसको वास्तविक सफलता उद्घाटन वा पहिलो उडानमा होइन, नियमित यात्रु आकर्षित गर्दै दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय हवाई गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्न सकिन्छ वा सकिँदैन भन्ने कुराले निर्धारण गर्नेछ।