arrow
ADVERTISEMENT

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न सहमति पत्रमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
cg-foundation-mariott-jun2-2026.jpg

काठमाडौँ। उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसिया बीच नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित ह्याण्डीक्राफ्टलाई अन्तर्राष्ट्रिय आतिथ्य बजारसँग जोड्ने उद्देश्यसहित रणनीतिक साझेदारीमा हस्ताक्षर भएको छ।

उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको पहल हो जसले नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्त निर्मित उत्पादनलाई बजारसँग जोड्ने काम गर्दछ।

यस सम्बन्धमा चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका तर्फबाट किरण एन्डीकोट बीच साझेदारीमा हस्ताक्षर भएको हो। हस्ताक्षर समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियट लगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस सहकार्यको उद्देश्य नेपाली हस्तकला, महिला उद्यमी तथा समुदायमा आधारित उत्पादक समूहहरूले उत्पादन गरेका नेपाली स्थानीय सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु तथा ती उत्पादनहरूलाई मेरियट र यससँग आबद्ध होटेलहरूमा प्रदर्शन तथा प्रयोग गर्ने सम्भावनाको खोजी गर्नु हो । यस पहलले नेपाली मौलिक हस्तकलाका सामग्री तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित गर्न मद्दत गर्नुका साथै स्थानीय समुदायका लागि अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सहकार्यअन्तर्गत उन्नतिले आफ्नो विशेष ब्राण्ड सिया मार्फत होटेल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास तथा छनोट गर्नेछ । सिया उन्नतिको प्रिमियम ब्राण्ड हो।  साथै योग्य हस्तकला निर्माता र महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको पहिचान तथा परिचालन, उत्पादनको गुणस्तर र मौलिकताको सुनिश्चितता, ब्राण्डिङ, कथा प्रस्तुतीकरण (स्टोरीटेलिङ) तथा प्रभाव मूल्याङ्कनका कार्यहरू पनि उन्नतिले गर्नेछ।

यस सम्झौता अन्तर्गत मेरियटले आफ्ना होटेलहरूलाई आवश्यक पर्ने उत्पादनसम्बन्धी मार्गदर्शन प्रदान गर्ने, छनोट गरिएका नेपाली उत्पादनहरूलाई आफ्ना होटेलहरूमा प्रदर्शन तथा प्रवर्द्धन गर्ने सम्भावनाको खोजी गर्ने तथा होटेल सञ्चालकहरूसँग उन्नतिका उत्पादनहरूलाई होटेल सञ्चालन सामग्री तथा उपकरण (अपरेटिंङ् सप्प्लाई एण्ड इक्युमेन्ट) मा समावेश गर्ने विषयमा छलफल सहजीकरण गर्नेछ।

यस अवसरमा बोल्दै चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालसँग समृद्ध हस्तकला र उद्यमशीलताको परम्परा रहेको उल्लेख गर्दै त्यसले विश्वस्तमा अझ बढी पहिचान पाउनुपर्ने बताए । उनले यो सहकार्यले विशेष गरी महिला उद्यमी र हस्तकला उत्पादकलाई अन्तर्राष्ट्रिय बजारसँग जोडेर स्थानीय समुदायलाई सशक्त बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

यो साझेदारीले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने लक्ष्य राखेको छ। स्थानीय स्तरमा उत्पादित वस्तुहरूलाई विश्वव्यापी उपभोक्तासम्म पुग्ने अवसर सिर्जना गरेर यस पहलले नेपालको हस्तकला क्षेत्रलाई थप सुदृढ बनाउनुका साथै देशभर दिगो उद्यम विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

दुवै संस्थाले सामाजिक उत्तरदायित्वयुक्त व्यावसायिक अभ्यासलाई प्रवर्द्धन गर्ने, स्थानीय उत्पादकहरूलाई सशक्त बनाउने तथा नवप्रवर्तनशील साझेदारीमार्फत नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्व मञ्चमा स्थापित गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ