काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको समसामयिक राजनीतिक परिस्थितिबारे साझा छलफल गर्न आज (सोमबार) सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यो बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय अन्तर्गतको सार्वजनिक लेखा समितिको हलमा बिहान ९:०० बजे बस्ने गरी तय गरिएको छ।
मुलुकको वर्तमान राजनीतिक अवस्था, विकसित घटनाक्रम र समसामयिक विषयहरूमा दलहरूबिच सघन संवाद र समीक्षा गर्ने उद्देश्यले यो बैठक आह्वान गरिएको हो।
बैठकलाई बढी व्यवस्थित, परिणाममुखी र निर्णयमुखी बनाउनका लागि विशेष कार्यविधि तय गरिएको छ। जसअनुसार सङ्घीय संसद्को दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ।
प्रत्येक दलबाट पार्टीका मुख्य नेता अर्थात् अध्यक्ष वा सभापतिसहित अनिवार्य रूपमा दुई-दुई जना शीर्ष नेताहरूलाई मात्र बैठकमा सहभागी हुन अनुरोध गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बैठकको औपचारिक सूचना र निमन्त्रणा यसअघि नै पठाइसकिएको छ।