किमाथाङ्कामा फोरजी सेवा अवरुद्ध, स्थानीयवासी मर्कामा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
270
Shares
काठमाडौँ । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
भोटखोला–१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक बन्द भएको जानकारी दिए। उनले सञ्चार सेवामा समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई यसबारे जानकारी गराइसकेको र सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको बताए।
लामो समयसम्म इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीयवासी सूचना आदानप्रदान गर्न, देश–विदेशमा रहेका आफ्ना आफन्तसँग सम्पर्क गर्न तथा विभिन्न अनलाइन सेवा लिनबाट बञ्चित भएका छन्। इन्टरनेटमार्फत सञ्चालन हुने सरकारी कार्यालयका कामकाज, वित्तीय संस्थाका सेवा तथा अन्य दैनिक गतिविधिमा यसले गम्भीर असर पारेको छ। तत्काल नियमित रूपमा सेवा सञ्चालनका लागि सरोकारवाला निकायले तदारुकता देखाउनुपर्ने माग स्थानीयले गरेका छन्।
नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङ्का व्यापारिक, रणनीतिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र मानिन्छ। संवेदनशील सीमा क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा मात्र नभई सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, पर्यटक तथा सुरक्षाकर्मी समेत प्रभावित भएका छन्।
किमाथाङ्का अत्यधिक दुर्गम हिमाली क्षेत्रमा पर्ने भएकाले प्राविधिक समस्या हुँदा तत्काल समाधान गर्न समय लाग्न सक्ने स्थानीयको भनाइ छ। यद्यपि, समस्याको संवेदनशीलतालाई ध्यानमा राख्दै प्राविधिक टोली चाँडोभन्दा चाँडो परिचालन गरी शीघ्र सेवा सञ्चालन गर्न उनीहरूले सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।