बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
236
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो चरणको देशव्यापी जिल्ला अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ। केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो ऐतिहासिक अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व छानिएको हो।
बागमती प्रदेशअन्तर्गत काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरको सभापतिमा सञ्जिव पाठक निर्वाचित भएका छन्। यसै प्रदेशका चितवन, रसुवा र ललितपुरमा आज अधिवेशनको कार्यतालिका रहेको छ भने शनिबार सुरु भएको सिन्धुपाल्चोकको अधिवेशन प्राविधिक कारणवश हाललाई स्थगित गरिएको छ।
यसै गरी कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएका छन्। कोशीकै धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको छ। निर्वाचन आयोगका प्रमुख केसीका अनुसार आज देशभरका कुल २८ जिल्लाहरूमा रास्वपाको अधिवेशन एकैसाथ सञ्चालन भइरहेको छ।
यसैबिच, केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरूको सहभागिताका सम्बन्धमा विशेष नियम स्पष्ट पारेको छ। आयोगका अनुसार हालसम्म अधिवेशन सम्पन्न हुन बाँकी रहेका पालिकाहरूका कुनै पनि विभागबाट जिल्ला अधिवेशनमा प्रतिनिधित्व गराउन पाइने छैन। अधिवेशन सम्पन्न भइसकेका पालिकाहरूको हकमा भने गत वैशाख १५ गतेभन्दा अगाडि नै नियमानुसार नियुक्त भइसकेका विभागीय सदस्यहरूले मात्र जिल्ला अधिवेशनमा प्रतिनिधि बन्न पाउने कानुनी व्यवस्था गरिएको छ।