arrow

अपेक्षाको कसीमा ‘नयाँ’ शक्तिहरू

कुलमान भन्छन्- नयाँको विकल्प पुरानो होइन, नयाँ नै हुन्छ

उज्यालो नेपाल पार्टीद्वारा वैकल्पिक राजनीतिको नयाँ खाका प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
kulman-ghising-22.jpg

काठमाडौँ । देशमा स्थापित पुराना राजनीतिक दलहरू मात्र होइन, पछिल्लो समय ‘नयाँ’ को नारा दिएर सत्तामा पुगेका शक्तिहरूले समेत जनअपेक्षा पूरा गर्न नसकेको जनगुनासो बढिरहेका बेला उज्यालो नेपाल पार्टीले देशमा वास्तविक वैकल्पिक राजनीतिको नेतृत्व आफैँले गर्ने उद्घोष गरेको छ ।

पार्टीका अध्यक्ष कुलमान घिसिङले शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान राजनीतिक परिदृश्यको निर्मम समीक्षा गरे । उनले अहिलेको अवस्थामा 'नयाँ' भनिएकाहरू चुक्नुको अर्थ जनता फेरि पुरानाकै शरणमा फर्किने नभई त्योभन्दा परिष्कृत र दूरदर्शी नयाँ शक्तिको उदय हुनु रहेको स्पष्ट पारे ।

पछिल्लो निर्वाचनमार्फत संसद् र सरकारमा युवा तथा नयाँ अनुहारहरूको बाहुल्य देखिए पनि उनीहरूको कार्यशैली र डेलिभरीप्रति जनता पूर्ण रूपमा सन्तुष्ट हुन नसकेको अध्यक्ष घिसिङको विश्लेषण छ । सरकारका काम–कारबाहीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै उनले भने, "नेपाली जनताले पुराना शक्तिहरूबाट आजित भएर नयाँलाई म्यान्डेट दिएका हुन् । तर, अहिले ती शक्तिहरू पनि जनताका आधारभूत मुद्दाभन्दा सस्तो लोकप्रियता र प्रचारवाजीमा अल्झिएका छन् । हामी सरकारलाई सचेत गराउन चाहन्छौँ— यदि जनअपेक्षाअनुसार काम हुन सकेन भने उज्यालो नेपाल पार्टीले त्यसको सशक्त प्रतिवाद गर्नेछ ।"

उनले राजनीतिको यो संवेदनशील मोडमा जनतालाई निराश हुन नदिने प्रतिबद्धता समेत जनाए ।

अध्यक्ष घिसिङले अबको राजनीतिक निकासका लागि 'नयाँको विकल्प फेरि पनि पुरानो हुन नसक्ने र नयाँको विकल्प झन् उत्कृष्ट नयाँ नै हुने' राजनीतिक सिद्धान्त अघि सारे । सोही विचारलाई स्थापित गर्न आगामी स्थानीय, प्रादेशिक तथा सङ्घीय निर्वाचनलाई लक्षित गरी पार्टीले देशव्यापी रूपमा सङ्गठन विस्तारको रणनीतिक योजना अघि सारेको छ ।

पार्टीले प्रत्येक वडा र गाउँपालिका तहसम्म आफ्नो उपस्थितिलाई जगैदेखि मजबुत बनाउन र जनताका वास्तविक समस्या संकलन गर्न ‘उज्यालो अभियान’ नामक विशेष राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यो अभियान केवल भोट माग्ने माध्यम मात्र नभई तल्लो तहका नागरिकको जीविकोपार्जन, स्थानीय अर्थतन्त्र र उद्यमशीलतालाई जोड्ने एउटा रचनात्मक अभियान हुने दाबी गरिएको छ ।

उज्यालो नेपाल पार्टीले परम्परागत राजनीतिक भाषणभन्दा माथि उठेर युवा वर्गका लागि ठोस आर्थिक योजनाहरू अघि सार्ने प्रतिबद्धता जनाएको छ । देशमा व्याप्त बेरोजगारीको समस्यालाई सम्बोधन गर्न युवाहरूलाई लगानीका नयाँ क्षेत्र, उद्यमशीलता र स्वदेशी उत्पादनमा कसरी आबद्ध गराउन सकिन्छ भन्ने विषयमा पार्टीभित्र ठोस कार्ययोजना निर्माण भइरहेको घिसिङले जानकारी दिए ।

उनका अनुसार मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सत्ता वा सरकारमै पुग्नु मात्रै अनिवार्य सर्त होइन । पार्टीले सरकार बाहिर रहेर पनि देशको अर्थतन्त्र सुदृढ बनाउन, समाज रूपान्तरण गर्न तथा विकासका विभिन्न क्षेत्रमा रचनात्मक र पहरेदारको भूमिका निर्वाह गरिरहने दृढता व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ